झापामा निर्वाचनको तयारी शुरु
भद्रपुर ११ माघ । झापामा बैशाख १७ , २७मा हुने भनिएको निर्वाचनकालागि तयारी कार्य शुरु भएकोछ । शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले, गत निर्वाचनमा तोकिएका निर्वाचन केन्द्र र स्थललाइ संशोधन गरेको छ भने यता जिल्ला निर्वाचन कार्यालय झापाले आइतबार स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारी नियुक्ति गरी अभिमुखीकरण तालिम प्रदान गरेको छ ।
निर्वाचन तोकेसँगै कार्यालयले मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक गर्न र सोका लागि आवश्यक अन्य सबै काम गर्नका लागि प्रत्येक पालिकाबाट तोकिएका नाम दर्ता अधिकारीहरुलाई व्यवस्थित र मर्यादित तरिकाले काम गराउन एक दिवसीय अभिमुखीकरण तालिम प्रदान गरेको हो ।
तालिमको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण शाहीले उनीहरुलाई काम, कर्तव्य र अधिकारभित्र रहेर आयोगको निर्देशनमा काम गर्न आग्रह गर्दै ऐन र नियमावली बमोजिम काम भए नभएको निरीक्षण तथा अनुगमन गरिने बताए ।
जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी कुमार नेपालले उनीहरुलाई तालिममा मतदाता नामावलीमा नाम समावेश हुन योग्यता पुगेका व्यक्तिको फोटोसहितको मतदाता नामावली प्रारम्भ, मुत्यु भएका मतदाताहरुको नामवली सूचीबाट हटाउनेलगायतका कार्यहरु सिकाईने बताए । जिल्लाका १५ वटै पालिकाबाट एक÷एक गरी १५ जनाको उपस्थिति रहेको तालिममा निर्वाचन अधिकारी नेपाल, सहायक प्रजिअ शाही र प्राविधिक विषयमा प्रेम न्यौपाने, मोहन भट्टराईलगायतले सहजीकरण गरेका थिए ।
विगतमा झापामा २८३ मतदान स्थल र ६९२ मतदान केन्द्र रहेकोमा यसपालि तीन वटा मतदान स्थल र दुई मतदान स्थललाई गाँभेर एक बनाउनका लागि स्थानीतह, राजनीतिक दलहरुको आग्रहमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले केन्द्रमा सिफारिस गरेको निर्वाचन अधिकारी नेपालले बताए ।