एउटै गाउँमा ५ करोडको सुन्तला
सल्यान । सुन्तला गाउँको रूपमा चिनिएको सल्यान जिल्लाको बागचौर नगरपालिक ८ र ९ का किसानले वार्षिक पाँच करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन गर्दै आइरहेका छन् । गत वर्षको तुलनामा भने यस वर्ष सुन्तला उत्पादन कम भएको किसानहरूले बताएका छन् । दाना लाग्ने समयमा वर्षा भएका कारण सुन्तला उत्पादनमा गिरावट आएको हो ।
कोरोना भाइरस रोगका कारण व्यापारीहरू बगानमा आउन हिच्किचाएको बागचौर नगरपालिका ९ का किसान अंगेश्वर डाँगीले बताए । विगत २८ वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका डाँगीले कोटमौला एउटा गाउँमा मात्र वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन हुने बताए । कोटमौलाका पाँच सय किसानहरूले सुन्तला खेती गरिरहेका छन् ।
सुन्तला बिक्रीबाट वार्षिक ५ लाखदेखि ३० लाख रुपैयाँसम्म कमाउने गरेको रेशम डाँगीले बताए । ३५ रोपनी क्षेत्रफलमा करिब पाँच सय बोट लगाएका रेशमले गत वर्ष मात्र ९ लाख रुपैयाँ आम्दानी गरेका थिए । यो वर्ष भने कोरोना कहर र उत्पादन नै कम भएकाले आम्दानी केही घट्ने बताए ।
यस्तै, गत वर्ष ३४ लाख सुन्तला बिक्री गरेको भरतनाथ योगीले यो वर्ष भने उत्पादनमा कमी आउने बताए । व्यापारीहरू अहिलेसम्म नआएको र सुन्तलाको आकार पनि सानो भएकाले गर्त वर्षको तुलनामा कमी आउने उनले आंकलन गरेका छन् ।
सल्यानमा १ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । हाल ९ सय ८० हेक्टरमा सुन्तला उत्पादन भइरहेको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए ।