काँकडभिट्टामा एघार तलाको भ्यूटावर निर्माण सुरु

भद्रपुर २ माघ । नेपालको पूर्वीद्वार काँकडभिट्टामा पर्यटक आकर्षित गर्न एघार तलाको भ्यूटावर निर्माण सुरु भएको छ । एसियाली राजमार्गको समेत प्रवेशविन्दु भएको हँुदा काँकडभिट्टामा पर्यटक आउनासाथ दृश्यावलोकनका लागि १ नं. प्रदेश सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा भ्यूटावरको निर्माण थालिएको मेचीनगरका प्रमुख बिमल आचार्यले बताए ।

आज एक समारोहबीच प्रदेशका तीन जना सांसद् श्रीप्रसाद मैनाली, राधा थापा र गोपालचन्द्र बुढाथोकी, मेचीनगरका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना उप्रेती, नेपाली कांग्रेसका नगर सभापति इन्द्र बुढाथोकी, नेकपाका नगर इञ्चार्ज देबकुमार राई, जनता समाजबादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपाका नगर अध्यक्ष सुशिल आचार्यले भ्यूटावरको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

मेचीनगर नगरपालिका वडा नं. ६ को सबैभन्दा अग्लो स्थानमा रहेको शिवालय मन्दिर परिसरमा शिलान्यास भएको भ्यूटावरको कूल लागत रु. ४ करोड ५३ लाख ४७ हजार ३७० रहेको आयोजना प्रमुख इन्जिनियर कमलप्रसाद कोइरालाले जानकारी दिए । कनकाई इन्टरनेसनल बिल्डर्स प्रालिले निर्माण कार्यको ठेक्का पाएको छ । आयोजना प्रमुख कोइरालाका अनुसार २०७८ मङ्सिर २८ गते काम सम्पन्न गरिसक्नु पर्ने ठेक्का सम्झौतामा उल्लेख छ । निर्माणस्थल काँकडभिट्टाको नेपाल प्रवेशद्वारबाट दुई सय मिटरको दुरीभित्रै रहेको छ । काँकडभिट्टाकै सबैभन्दा अग्लो स्थान भएकाले त्यहाँ धेरै पहिलेदेखि नै आन्तरिक पर्यटकहरु दृश्यावलोकनका लागि जाने गर्दथे ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)को प्रदेश नं. १ काअध्यक्ष उदयकुमार श्रेष्ठले यहाँ निर्माण हुने भ्यूटावरबाट तराईको मनोरम फाँटहरु मात्र नभएर इलामको हरियाली डाँडाकाँडा र भारतको दार्जीलिङ, सिलिगुडी र सिक्किमसम्मको दृश्यावलोकन गर्न सकिने सम्भावना व्यक्त गरे ‘‘काँकडभिट्टा नेपाली पर्यटन क्षेत्रका लागि प्रमुख प्रवेशद्वार मध्येमा पर्दछ,’’ नाटाका अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ–‘‘उनीहरुलाई घ्ुमफिर गर्न र रमाउन मन लाग्दा भ्यूटावर महत्वपूर्ण ठाउँ बन्ने हाम्रो विश्वास छ ।’’

प्रदेश सांसद् श्रीप्रसाद मैनालीले पर्यटन क्षेत्र कोभिड १९ का कारण सुस्ताएको भए तापनि सो क्षेत्रलाई ब्युँझाउन प्रदेश सरकारले बिगतमा बिनियोजन गरेको सबै बजेट पर्यटनमै खर्च गर्ने नीति लिएको बताए । काँकडभिट्टामा पर्यटकीय आकर्षणका लागि बिगतदेखि नै आफुले भ्यूटावरको वकालत गर्दै आएको र बल्ल सपना पूरा भएको प्रदेश सांसद् राधा थापाले बताए । मेचीनगर नगरपालिकाले भ्यूटावरलाई नगरको गौरवको आयोजनामा सूचीकृत गरेको हुँदा यसको निर्माणमा कुनै ढिलासुस्ती हुन नदिइने नगरकी उपप्रमुख मीना उप्रेतीले बताइन् ।

झापामा यस अघि बुद्धशान्तिको धारागोलामा पाँच तले भ्यूटार निर्माण भइसकेको छ भने दमकमा नेपालकै सबैभन्दा ठूलो भ्यूटावर निर्माणाधीन अवस्थामा रहेको छ । मेचीनगर मुलुककै प्रवेश नाकामा रहेको सहर भएकाले यहाँ पर्यटकीय विकासका पूर्वाधारको निर्माणमा बिगतदेखि नै जोड दिइँदै आएको छ । हाल काँकडभिट्टामा पर्यटकका लागि देवकोटा पार्क, पुष्पलाल–वीपी बाटिका, पातालगङ्गा लगायतका केही रमणीय स्थलहरु छन् । दश किलोमिटर वरपर चाहिँ ठूला पर्यटकीय स्थलहरु रहेका छन् । बाहुनडाँगीमा मिनी माउन्टेन, बेसीबजार र कृष्णथुम्की चर्चित पर्यटकीय स्थल हुन् भने बाँसबारी, कालिका, मागुरमाडी, खु्ट्टेडाँगी, निचाझोडी सिमसार क्षेत्रले वर्षेनी लाखौं आन्तरिक पर्यटकलाई लोभ्याउँदै आएको छ ।

पर्यटकलाई लक्षित गर्दै काँकडभिट्टाको पाँच किलोमिटर वरपर ठूला होटल र रेस्टुरेन्टहरुको स्थापना भइरहेका छन् । काँकडभिट्टामै दुई वटा र धुलावारीको जोरसिमलमा एउटा क्यासिनो सञ्चालित छ । धुलावारीको जोरसिमलमा होटल मेची क्राउन नामक पाँच तारे सुविधासम्पन्न होटल गत वर्षदेखि सञ्चालित छ । अब पूर्वीद्वार काँकडभिट्टाबाट प्रवेश गर्ने विदेशी पर्यटकले खान बस्नका लागि अन्तर्राष्ट्रिय स्तरको होटल सुविधा पाउन थालेका छन् । पर्यटकीय आकर्षणका लागि अर्को महत्वपूर्ण पूर्वाधार मानिएको हवाई सेवाको सुविधा चन्द्रगढी विमानस्थलले पूरा गर्दै आएको छ । हाल नियमित रुपमा चन्द्रगढी विमानस्थलबाट सात वटा उडानहरु भइरहेका छन् ।