विप्लव समूह प्रहरी प्रशासनको चुनौति बन्दै
झापा । राज्य व्यवस्थाप्रति असहमत रहेर विद्रोहमा उत्रेको नेकपा माओवादी (विप्लव) समूहले व्यक्ति हत्याको रणनीति सार्वजनिक गर्दै मैदानमा उत्रेपछि सुरक्षा व्यवस्थामा चुनौति थपिएको छ ।
मोरङको पहाडी गाउँ मिक्लाजुङमा मंगलबार बिहान सो समूहले एक निहत्था शिक्षकको घाँटी रेटेर हत्या गरेपछि आफ्नो रणनीतिमा बाधा पुर्याउनेमाथि हत्यासम्मको रणनीति बाहिरिएको हो ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार प्रतिबन्ध लगाएयता सो समूहका एक हजार ९ सय ४७ जना पक्राउ परेका छन् । जसमा १ हजार ६ सय ७८ जना छुटेका छन् भने १४३ जनालाई मात्रै अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विवरणले पुष्टि गर्छ ।
सरकारले विप्लव समूहमाथि २०७५ साल फागुन २८ मा प्रतिबन्ध लगाउँदै विप्लव समूहका कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँबाट पक्राउ गर्न आदेश दिएको थियो । सरकारी आदेश अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालले समूहविरुद्ध आक्रामक अपरेशन चलायो तर प्रहरीको कडाइसितै विप्लव समूहको रणनीति पनि फेरिएर हत्यासम्मका योजनामा रुपान्तरण भएपछि शान्ति सुरक्षामाथि चुनौति थपिन पुगेको छ ।
नीतिगत अस्पष्टताका कारण प्रहरीले समातेका विप्लव समूहका अधिकांश नेता, कार्यकर्ता छुटिसकेका छन् भने एउटै व्यक्ति चार पटकसम्म पक्राउ परेर पनि थुनामा राख्न नसकिएको अवस्थाले प्रहरी प्रशासनलाई हिंसा रोक्न हम्मेहम्मे पर्ने देखिएको छ ।