नेपाल प्रिमियर लिगको जिम्मा भारतीय कम्पनीलाई
नेपाल क्रिकेट संघ –क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० लिगको आयोजना अनुमति भारतीय कम्पनीलाई दिने प्रस्ताव गरेको छ । मंसिर ३ गते भएको क्यानको भर्चुअल साधारणसभामा क्यानको बोर्डको तर्फबाट एनपिएल आयोजना अनुमति भारतीय कम्पनीलाई दिने प्रस्ताव गरिएको हो ।
साधारण सभामा भारतीय कम्पनी सेभेन—३ स्पोट्र्स प्रालिलाई एनपिएलको आयोजना १० वर्षका लागि दिने प्रस्ताव आएको छ । भारतीय कम्पनीलाई आयोजनाको मात्र लाइसेन्स दिन लागेको बताउँदै एनपिएलको स्वामित्व भने क्यानलाई हुने क्यान पदाधिकारीको भनाइ छ । लाइसेन्स वापत क्यानले १० वर्षमा ४० करोड रुपैयाँ भारतीय कम्पनीबाट लिनेछ । ४० करोड मध्ये पहिलो वर्ष साढे २ करोड रुपैयाँ उक्त कम्पनीले क्यानलाई बुझाउने प्रस्ताव छ ।
नेपालको हितमा हुने गरी उक्त प्रस्ताव आएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दको भनाइ छ । चन्दका अनुसार एनपिएलको आयोजक क्यान नै हुने हो, तर आयोजनका लाइसेन्स मात्र भारतीय कम्पनी दिइनेछ । यस्तै एनपिएलको आयोजनाको कर भारतीय कम्पनीले नेपालको कानुनअनुसार तिर्ने प्रस्ताव गरिएको छ ।
बोर्डको तर्फबाट साधारणसभामा आएको प्रस्तावको प्रदेश एक र प्रदेश तीनका प्रतिनिधिले विरोध गरेका थिए । प्रदेश तीनका अध्यक्ष तथा नेपाली टिमका पूर्व सदस्य राजु बस्न्यातले एनपिएल क्यानले नै आयोजना गर्नु पर्ने धाराणा राखेका थिए ।
बुधबारको साधारण सभाले एनपिएल आयोजना गर्ने विषयमा केन्द्रीय कार्यसमितिलाई निर्णय गर्ने जिम्मा दिएको छ । अब क्यानको केन्द्रीय समितिले एनपिएल आयोजनाको विषयमा निर्णय गर्न सक्नेछ ।
“नेपाल क्रिकेट संघको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हित अनुकुल रहनेगरी केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको कन्ट्र्याक्ट साइन प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको छ,” साधारण सभाको निर्णयमा भनिएको छ ।