आज कृष्ण त्रयोदशीदेखि यमपञ्चक शुरु
भद्रपुर २७ कात्तिक । कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात् तिहार विहिवारदेखि शुरु भएको छ। आजबेलुकी यम दीपदान शुरु गर्नुपर्ने छ । यसवर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।
साँझ त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको समितिले जनाएको छ । यस अवसरमा यमदीप दान गरे यम यातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ । कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । गाई, गोरु र म्ह पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ ।
मङ्सिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको छ । मङ्सिर १ गते भाइटीकाकै दिन नेपाल संवत् ११४१ शुरु हुन्छ । नेवार समुदायका केही संस्थाले मङ्सिर २ गते किजा मनाउने निर्णय गरेका छन् ।