डेमोक्रेटिभ उम्मेदवार जो बाइडेन जितको नजिक
एजेन्सी
अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रेटिभ उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन् र राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउदै लगेका छन् । अमेरिकामा कुल ५३८ इलोक्टोरल मत मध्ये २७० इलोक्टोरल मत ल्याउने उम्मेदबार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था रहेको छ । बाइडेनले अहिलेसम्म २६४ इलेक्टोरल मत प्राप्त गरिसकेका छन् भने बाँकी ६ मत उनले गणना गर्न बाँकी ठाउँबाट सहजै प्राप्त गर्ने देखिएको छ । पूर्व उपराष्ट्रपति बाइडेनसँग प्रतिश्पर्धामा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल मत मात्रै प्राप्त गरेका छन् । उनी धेरै पछाडि रहेकोले जित्ने संभावना न्युन देखिएको छ ।
आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै बेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा उजुरी दिएका छन् । अमेरिकाका कुल ५० राज्य मध्ये ४३ राज्यमा मतगणना सम्पन्न भइसकेको छ भने बाँकी सात राज्यमा अहिले गणना भइरहेको छ । अहिले गणना भइरहेका अधिकांश ठाउँमा पनि बाइडेन नै अगाडि देखिएकाले उनको जितको संभावना बढी देखिएको हो । अहिले मतगणना भइरहेका मध्ये पेन्सील्भानीया, उत्तर क्यारोलिना, जर्जिया र नेभाडामा बाइडेन अगाडि देखिएका छन् । बाइडेनले अहिलेसम्म सात करोड दश लाख मत ल्याइसकेका छन् । यो मत राष्ट्रपतिको उम्मेदबारले पाएको अहिलेसम्मकै सर्वाधिक भएको अधिकारीहरुले जनाएका छन् । हुलाक दिइएको मत भने केही संकलन भइसकेको छ भने केही ठाउँबाट आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । ती सवै मत गणना भएपछि मात्रै अन्तिम नजिता घोषणा गरिने छ । अमेरिकामा हरेक निर्वाचनमा हुलाक मार्फतलाखौ मतदाताले मतदान गर्दछन् । त्यसैगरी इलोक्टोरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसङ्ख्याका आधारमा इलोक्टरल मत तोकिएको छ ।
अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ। त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ । अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।