तलव नदिने गौरादहका सवै विद्यालय अनिश्चितकालीन बन्द

भद्रपुर, ४ कार्तिक । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) गौरादह नगर समितिले सम्झौता अनुसार विद्यालय सञ्चालकहरूले तलव दिन आनकान गरेपछि अनिश्चितकालीन विद्यालय बन्द गरेको छ ।

इस्टु जिल्ला कार्य समितिसित प्याब्सन झापाले गरेको सम्झौता कार्यान्वयन गर्न विद्यालय सञ्चालकहरूले अटेर गरेपछि गौरादह नगारपालिका क्षेत्रका संस्थागत विद्यालय अनिश्चितकालीन बन्द गरिएको हो ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरूद्ध रहेका विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव दिन आनकान गरिरहेका छन् । कोभिड १९ को बाहना बनाएर नाफाखोरी प्रवृत्ति प्रस्तुत गरिरहेका विद्यालय सञ्चालकहरूले नजिकै आउँदै गरेको चार्डवार्डलाई समेत खल्लो बनाउन भूमिका खेलेको प्रति इस्टु गौरादहले खेद प्रकट गरेको छ । नगर समिति अध्यक्ष सञ्जीव कार्की तथा सचिव खेमराज पाण्डेद्वारा हस्तक्षर गरिएको विज्ञप्तिमा इमोसनल ब्लाकमेलिङको दुस्साहस नगर्न प्याब्सन गौरादह समितिलाई चुनौति समेत दिइएको छ ।

प्याब्सन जिल्ला समितिको निर्णय नमान्ने प्याब्सन गौरादहका कारण उत्पन्न हुन सक्ने भौतिक, मानसिक तथा अन्य क्षति उत्पन्न भए त्यसको जिम्मेवारी लिनु पर्ने समेत जारी विज्ञप्तिमा प्रष्ट पारिएको छ ।