दमक नगरपालिका ३ दिनका लागि वन्द

भद्रपुर ३ कात्तिक । झापाको दमक नगरपालिकाले आजदेखि तीन दिनका लागि वन्द हुने सूचना जारी गरेको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द हुने जनाइएको छ ।

नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेले आज एक सूचना निकालेर नगर प्रमुख सहित दुई जना वार्ड अध्यक्षमा संक्रमण देखिएपछि नगरपालिका र वार्ड कार्यालयबाट प्रदान गरिने सवै सेवाहरु बन्द हुने जनाएका छन् । पछिल्लो समय जनप्रतिनिधिसहित कर्मचारीहरुमा संक्रमण थपिदै गएको र संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ कार्य गर्नुपर्ने भएकाले नगरपालिकाका कार्यालय तथा १० वटै वडा कार्यालयहरु वन्द रहने उल्लेख छ । यसअघि पनि नगरपालिका गत असोज २० देखि २३ गतेसम्म पनि वन्द भएको थियो ।

नगरपालिकाले स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाएर मात्र दैनिक जीवनयापन, व्यवसाय गर्न अनुरोध गरेको छ । यस्तै निषेधाज्ञा पालना गर्न नगरवासीहरुसंग भनेको छ ।