चारआली-चन्द्रगढी सडक खण्ड अवरोध

भद्रपुर, ३ कार्तिक । हुलाकी सडक अन्तर्गत लिङ्क रोडका रुपमा निर्माणाधीन चारआली–चन्द्रगढी सडक खण्डको चन्द्रगढी चौकमा धुलो र हिलोले पीडीत भएको भन्दै स्थानीयले अवरोध गरेका छन् ।

पटक पटक स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधिहरुलाई चारआली–चन्द्रगढी सडक छिटो निर्माण गराइदिनका लागि स्थानीयले गरेको अनुरोध कार्यान्वयन नभए पछि पीडीतले सडक अवरोध गरेर आवगमनमा बाधा सृजना गरेका हुन् ।

४ वर्ष अगाडि याक्थुम्हाङ/ कन्चनजंगा जेभी निर्माण सेवाले ३० महिना भित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएर काम सुरु गरेपनि अहिले सम्म बीच बीचमा सडक खनेर अलपत्र पारेपछि आसपासका बासिन्दा धुलो र हिलो सहन बाध्य भएसंगै पटक पटक अवरोधमा उत्रिएपनि सरोकारवाला हुलाकी सडक परियोजनाले समाधान गर्न सकेको छैन ।

सो निर्माण कम्पनिले ४२ करोडमा २० किलोमिटर सडक कालोपत्र सहितको निर्माण गर्ने जिम्मेलिएको भए पनि अहिले सम्म गरिएका कतिपय कालो पत्र भत्कन थालिसकेका छन् भने निर्माण भएको र रंग रोगन गरेको सडक गुणस्तर मापदण्ड अनुरुप नहुँदा भत्कने क्रम जारी रहेको छ ।