१०६६ किलोको फर्सी फलाएर १६ हजार ४५० डलर जिते
एजेन्सी
अमेरिकाको क्यालिफोर्नियास्थित हाफ मुन बेमा भएको फर्सी प्रतियोगितामा १ हजार ६६ किलोको फर्सी फलाएर एक जनाले १६ हजार ४५० डलर जितेका छन् । हाफ मुन बेमा वर्षैपिच्छे सो प्रतियोगिता हुने गर्छ । ४७ औँ संस्करणको यो प्रतियोगितामा मिनोसेटाका ४० वर्षीय बागबानी शिक्षक ट्राभिस गिंगरले सो फर्सी फलाएका हुन् ।
महामारीका बेला गिंगरले धेरैजसो समय घरपछाडि रहेको फर्सीको हेरचाहमा बिताएका थिए । उनले दिनमै १० पटकसम्म पानी र कम्तीमा दुई पटक मल हाल्ने गरेका थिए । उनले उक्त फर्सी प्रतियोगितामा सामेल गराउन गाडीमा बोकेर ३५ घण्टाको यात्रा गरी पुगेका थिए । उनले भनेका छन्, ‘साह्रै कठिन यात्रा थियो । धक्का लागेपछि फर्सी फुट्ने हो कि भनेर तर्सिन्थेँ ।’
प्रतियोगितामा सर्वोत्कृष्ट बनेको उक्त फर्कीका लागि उनलाई पुरस्कार स्वरुप १६ हजार ४५० डलर प्रदान गरिएको थियो । सन २०१८ मा १ हजार १३४ किलोको फर्सीले यो प्रतियोगिता जितेको थियो । सन २०१६ मा बेल्जियमका एक किसानले १ हजार १७९ किलोको फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका थिए ।