दिल्ली क्यापिटल्स शीर्ष स्थानमा
एजेन्सी
आइपिएलमा दिल्ली क्यापिटल्स फेरि शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेर शीर्ष स्थानमा उक्लिएको हो । पहिले ब्याटिङ गरेको दिल्लीले ७ विकेटको क्षतिमा १६१ रन जोड्यो । दिल्लीका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले ५७ रन र कप्तान श्रेयस इयरले ५३ रन जोडे । त्यसअघि ओपनर पृथ्वी शा पहिलो बलमै आउट हुँदा अजिन्का राहाणेले २ रन मात्र जोड्न सके । दुवैलाई राजस्जथानका जोफ्रा आर्चरले आउट गरे ।
दिल्लीका लागि मार्कोस स्टोइनिसले १८ रन र एलेक्स क्यारीले १४ रनको योगदान दिए। बलिङमा राजस्थानका आर्चरले ३ विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिए ।
१६२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन मात्र जोड्न सक्यो । उसका लागि ओपनर बेन स्टोक्सले ४१ रन जोडे । रविन उथप्पाले ३२ रन बनाउँदा जोस बटलरले २२ रन र सन्जु सामसनले २५ रनको योगदान दिए ।
बलिङमा दिल्लीका एनरिच नोट्र्जे र तुसार देशपाण्डेले २(२ विकेट लिए । कागिसो रबाडा, रविचन्द्रन आस्विन र अक्षर पटेलले १(१ विकेट हात पारे ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलबाट १२ अंक जोडेको छ । राजस्थान ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
आइपिएलमा बिहीबार रोयल च्यालेन्जर्स बेंग्लोर र किंग्स ११ पञ्जावबीच खेल हुनेछ ।