भद्रपुरको सिद्धार्थ शिशुसदनले नियम विपरित शिक्षक निस्काशन गर्यो

भद्रपुर, २६ असोज । नियम विपरित गएर भद्रपुर ८ स्थित सिद्धार्थ शिशुसदन अंग्रजी माध्यमिक विद्यालयले विनाकारण विद्यालयमा कार्यरत शिक्षक निस्काशन गरेको पाइएको छ ।

सरकारले असोज १ गतेबाट अनिवार्य रूपमा शिक्षक कर्मचारीलाई शिक्षण कृयाकलापमा लगाउन दिएको निर्देशनको भावना विपरित सो विद्यालयका सञ्चालक श्याम देवानले कार्यरत शिक्षकलाई विनाकारण निस्काशन गरेको पाइएको हो ।

कक्षा १२ सम्म शिक्षण गरिरहेकी सुजता ठकुरीलाई सञ्चालक देवानले कारण नै नभइ निस्काशन गरेको पीँडितले जानकारी दिइन् । ठकुरीका अनुसार गएको शैक्षिक वर्षको तलव समेत नदिएका देवानले अर्को विद्यालयका सञ्चालकको अनुरोधमा आफूलाई हटाएको बताएका थिए । ठकुरीले आफूलाई निस्काशन गरेको खवर विद्यार्थीबाट असोज २५ गते अपरान्ह थाहा पाएकी थिइन् ।

उनले तत्काल विद्यालयमा सम्पर्क राख्दा सञ्चालक देवानले निस्काशन गर्नु पर्ने कारण केही नभए पनि समन्वयमा रहेको अर्को विद्यालयका सञ्चालकले अर्को शिक्षकको प्रबन्ध गरिदिएकाले हटाएको भन्दै दोष अर्कोतिर थुपारेको जानकारी दिइन् । यता संस्थापक देवान भने निस्काशनमा परेकी ठकुरी विद्यालयको सम्पर्कमा नआएको आरोप लगाउँदै सवै पारिश्रमिक दिएको ठोकुवा गर्छन् ।

नेपाली नागरिकलाई शिक्षक कर्मचारी राख्दा नेपालको कानुन अनुसार अधिकार खोज्ने भन्दै विद्यालयमा अधिकाम्स गैर नेपालीलाई शिक्षक कर्मचारीका रूपमा काम लगाइरहेका देवानले पछिल्लो पटक विस्थापित शिक्षकका ठाउमा राखिएकी शिक्षक समेत नेपाली नभएको बताइएको छ ।

यसै बीच सो विद्यालयले सरकारी अनुमतिविनै विद्यालयमा विद्यार्थी बोलाएर परीक्षा समेत सञ्चालनको तयारी गरिरहेको पाइएको छ । सरकारले परीक्षाको मोडालिटीतय गरेपछि परीक्षाका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिइसकेको सम्बन्धमा सरकारको वर्तमान नीति विपरित गएर देवानले साविकको कक्षा ११ को परीक्षा विद्यालयमै सञ्चालन गर्ने गरी असोज २७ गतेदेखि सञ्चालन गर्ने तयारी पूरा गरेका हुन् ।