बलात्कारका घटनामा कानुन संशोधनको माग
भद्रपुर १४ असोज । बलात्कारका घटनामा संलग्न पुरुषलाई कानुन संशोधन गरेर भए पनि मृत्युदण्डको सजाँय दिइनुपर्ने कुरामा झापाका विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले जोड दिएका छन् । रिपोर्टर्स क्लबले बिर्तामोडमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागी महिलाहरुले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई केही वर्षको सजाँय वा आजीवन कारावास सजाँयले नपुग्ने धारणा राखेका थिए । संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्छ भनेर आवाज उठाइरहेका बेला यसलाई कानुन बनाउनुपर्ने उनीहरुको एक आवाज थियो । महिला हिंसा र बलात्कारका घटनामा कमि आउनुको सट्टा बृद्धि हुँदै जानुमा कानुन नै फितलो भएको उनीहरुको निष्कर्ष थियो ।
कार्यक्रममा नेपाल महिला संघ झापाकी अध्यक्ष सुशीला ढकालले बलात्कारी राख्ने जेल पनि अलग्गै हुनुपर्ने बताउनु भयो । पैसा र शक्तिको आडमा अपराधीहरुले सजाय नपाउनु विडम्बना भएको उहाँको भनाइ थियो । त्यस्तै, कानुन व्यवसायी कोपिला खड्का बस्नेतले मृत्युदण्डको व्यवस्था गरिएका देशमा पनि बलात्कारका घटनामा कमि नआएकाले मानिसको आचरण र व्यवहारमै परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले समास्याको जड पहिचान गरेर सजाय उल्लेख गर्नुपर्ने जिकिर गर्नुभयो । राप्रपा नेतृ रञ्जु प्याकुरेलले बलात्कारका घटना हुनुको कारणको गहिरो अध्ययन आवश्यक रहेको बताउनु भयो । राज्य यस विषयमा सम्वेदनशील हुनुपर्नेमा उहाँको जोड थियो । त्यस्तै, अन्तर पार्टी महिला सञ्जाल झापाकी पूर्वअध्यक्ष सरु न्यौपानेले भइरहेको कानुनको प्रभावकारी कार्यान्वयन भए मात्र पनि बलात्कारका घटनामा कमि आउने विचार राख्नुभयो । कार्यक्रममा बोल्दै नारी संचारगृह झापाकी अध्यक्ष अम्बिका भण्डारीले बलात्कारीलाई मृत्युदण्डको सजाँय उपयुक्त भएको बताउँदै तर कानुन ल्याउनुभन्दा पहिला अन्तर्राष्र्टिय सन्धिमा परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।
मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा संयोजक शिखा खड्काले बलात्कारीलाई फाँसीको सजायको व्यवस्था हुनुपर्ने बताउनु भयो। उहाँले त्यसका लागि सरकारले विद्यमान कानुन संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रमको सहजीकरण क्लबका अध्यक्ष शेखर सेढाईंले गर्नुभएको थियो ।