झापा कारागारलाई कोरोना संक्रमण न्युन गर्न रेडक्रसको सहयोग

भद्रपुर, १२ असोज । झापा कारागारमा कोभिड १९ संक्रमण पुष्टि भएपछि संक्रमण न्युन बनाउन रेडक्रसले कारागारका कैदी बन्दीहरूका लागि स्वास्थ्य तथा सरसफाइका सामग्रीहरू हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखा र उपशाखा भद्रपुरले जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव झापाका प्रमुख जिल्ला अधिकारी श्रावणकुमार तिमिल्सीना मार्फत कैलीबन्दीलाई सरसफाई सामग्री हस्तान्तरण गरेको हो ।

साँघुरो बासस्थान रहेको कारागारमा कोरोना सक्रमित भेटिएपछि जोखिम न्यूनीकरण गर्न सहयोग स्वरूप रेडक्रसले पि पि इ १५ थान, प्लास्टिक बालटिङ ( वकेट) १० थान, वाथ साप ३ सय ६८ थान , हाइपोकोल्राइड २ जार (१० लि.) , स्वानिटाइजर १ जार (५ लि.) , ह्याण्ड माइक १ थान र मास्क पाँच सय थान जिल्ला कारागारका लागी प्रमुख जिल्ला अधिकारी मार्फत कैदी बन्दीका लागि प्रदान गरिएको भद्रपुर उपशाखाका सचिव दीपकुमार लिम्बूले जानकारी दिए ।

रेडक्रस झापा शाखाका सभापति लोकराज ढकाल र भद्रपुर उपशाखाका सभापति गोपाल गिरीको नेतृत्वमा गएको टोलीले सामग्री हस्तान्तरण गरेको थियो । क्षमता भन्दा बढी कैदी बन्दी रहेको झापा कारागारका ७ कैदी सहित एक भान्से र दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।