चन्द्रगढीका दुई सहित समुदायका ७ जनामा कोरोना संक्रमण पुष्टि

भद्रपुर, असोज १० । कोरोना संक्रमण समुदायमा फैलिने क्रममा झापामा आज समुदायका ७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । समुदाय भित्र संक्रमित हुनेहरूमा दुई महिला र पाँच पुरुष रहेका छन् ।

संक्रमण फैलिने क्रममा भद्रपुर १० मा कोरोना संक्रमणबाट मृत्यु भएका मृतकका परिवारका दुई सदस्य संक्रमित भएका छन् । गत बुधवार भद्रपुर १० बस्ने ८६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । सोही मृतकको परिवारका दुई सदस्यलाई आज संक्रमण देखिएको हो ।

मृतकका ५५ बर्षीया बुहारी र २० वर्षीय नातिलाई संक्रमण पुष्टि भएको भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । संक्रमित भएका दुवै आमा–छोरालाई उपचारका लागि मेची प्रादेशिक हस्पिटलको कोभिड उपचार केन्द्रमा लगिएको छ । ५७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा दुईजनाको रिपोर्ट पोजिटिभ आएको र बाँकी ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको फोकल पर्सन भट्टराईले बताए । त्यस्तै बिर्तामोड नगरपालिकामा आज समुदायका तीनजना संक्रमित भएका छन् । असोज १ गते संंक्रमण पुष्टि भएका बिर्तामोड ५ का व्यक्तिका ८३ वर्षिया आमालाई आज संक्रमण देखिएको हो । त्यस्तै बिर्तामोड १ का ६० वर्षिय पुरुषलाई पनि संक्रमण देखिएको छ । त्यस्तै भारतबाट फर्केका बिर्तामोड ९ का ३२ वर्षिय पुरुषलाई आजै संक्रमण पुष्टि भएको हो । त्यसैगरी कनकाई नगरपालिका वडा नं ९ का ४४ वर्षिय पुरुषलाई संक्रमण देखिएको छ । संक्रमित हुनेमा आदर्श माविका कर्मचारी भएको जनाइएको छ । त्यस्तै भारत हैदरावादबाट फर्केका कचनकवल ५ का पुरुषलाई संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

समुदाय स्तरमा फैलिएको कोरोना रोकथामका लागि अपनाउनु पर्ने न्युनतम सावधानी अपनाउन स्थानीय सरकार असफल भएका आरोप लाग्न थालेको छ । झापा सदरमुकाम चन्द्रगढी वजारका व्यापारीलाई कोरोना पुष्टि भएको २ दिन वितिसक्दा पनि आसपासका सम्पर्कमा आएका व्यक्ति पहिचान गरेर कोभिड १९ परिक्षण नगर्दा चन्द्रगी क्षेत्रका स्थानीयमा त्रास बढेको छ ।