भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकार चुके : राई
झापा ८ असोज । भुटानी शरणार्थी स्वदेश फिर्ती समिति (विआरआरसी ) का अध्यक्ष डाक्टर भम्पा राईले भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकार चुकेको टिप्पणी गरेका छन् । सञ्चारकर्मीहरुसंग कुराकानी गर्दे राईले अढाई दशकदेखि शरणागत भुटानीहरुलाई स्वदेश फिर्तीका लागि नेपाल सरकारले ठोस कदम नचालेका कारण समस्या अल्झिरहेको वताए ।
भुटानबाट खेदिएका नेपाल मूलका भुटानीहरुलाई स–सम्मान भुटान फर्काउन दबाब सृजना गर्न नेपाल सरकारवाट पर्याप्त पहल हुन नसकेको उनको भनाई छ ।
भुटान र नेपाल सरकारवीच भएका विभिन्न चरणका सरकारी द्धिपक्षीय वार्तालाई परिणाममुखी वनाउन नेपाल सरकार पूरै असफल भएको उनले प्रष्टयाए । उनले भने ,–‘यतिका लामो वार्तालाई निष्कर्षमा लैजान सक्नु परथ्र्यी,तर भएन ।’उनले शरणार्थी हेरचाहमा संलग्न दातृ निकायले समेत यस मुद्दालाई ओझेलमा पार्ने काम गरेको आरोप लगाए । स्वदेश फिर्ती प्रकृया एक मात्र शरणार्थी समस्या समाधानको एजेण्डा भएपनि दातृ संस्थाले समेत त्यस मुद्दालाई वेवास्था गरेर तेश्रो देश पूर्नावासमा जोड दिएको उनले वताए ।
भुटानी शरणार्थीलाई पश्चिमा मुलकमा पूर्नावास गराएर मात्र यस समस्या नसुल्झने भन्दै उनले भने,–‘शरणार्थीको दिगो समाधान भनेको उनीहरुको थातथलोनै हो, त्यसमा अन्तराष्ट्रिय जगतले समेत ध्यान दिनुपर्छ ’ भुटानी मामिलाका विषयमा नेपाल सरकारलाई पटक पटक आफनो कुरा राख्दैआएपनि सुनुवाई नभएको उनको गुनासो छ । उनले शरणार्थीको घर फिर्ती प्रकृया हल नहुनमा शरणार्थी एकता कमजोर हुनु पनि सहायक भएको औल्याए । हामी आफै छिन्नभिन्न भएपछि शरणार्थी मामिला दिशाहीन बन्न पुगेको उनको तर्क छ ।