परिवार भेट्न १७ हजार किलोमिटर यात्रा गर्ने सानी कुकुर

—सिएनएन

भनिन्छ मायाले पालेको कुकुर घरभन्दा जति टाढा पुगे पनि अन्ततः फर्किन्छ । आफ्नो परिवार भेट्टाएरै छोड्छ । यो भनाइ अस्ट्रेलियाको एक कुकुरले सही सावित गरिदिएको छ । अस्ट्रेलियाका एक परिवारले पालेको वेइनर प्रजातिको पिपस्क्वेक (पिप) नामक कुकुरले आफ्नो परिवार भेट्न धेरै नै लामो यात्रा तय गरेकी छ । सानी पोथी कुकुर पिपले अमेरिकादेखि अस्ट्रेलियासम्म पुग्न झन्डै १७ हजार किलोमिटर पार गरेर करिब पाँच महिनापछि आफ्नो परिवार भेटेकी हो ।

पिपलाई जो र गाइ एल्बेक नामका दम्पत्तिले पालिरहेका थिए । उनीहरूले सन् २०१८ मा सिसिलीको मेसिना सहरमा पिपलाई भेटेका थिए । छोटो समयमै पिप चार जनाको एल्बेक परिवारमा घुलमिल भई र परिवारकै सदस्य भएर बसिरहेकी थिई । एल्बेक परिवार डुंगा सयरमा रमाउने परिवार हो । उनीहरू केही समयअघि चार वर्षे विश्वव्यापी समुद्री यात्रामा निस्केका थिए । ४० फुटको डुंगामै विश्व घुम्ने उनीहरूको योजना थियो । पिप डुंगामा समय बिताउन पाउँदा मजा मान्थी । एल्बेक दम्पत्तिका छोराहरू क्याम र म्याक्ससँग निकै लुटपुटिन्थी ।

सन् २०२० को सुरूआतमै कोरोना भाइरस फैलिन थाल्यो । महामारीसँगै सबै देशले नाकामा कडाइ गरे । एल्बेक परिवार अमेरिकाको दक्षिण क्यारोलिना पुगेका थिए । त्यही बेला उनीहरूले यात्रा रोक्नुप‍र्यो र जहाजमार्फत अस्ट्रेलियास्थित घर फर्किनुपर्ने भयो । तर अस्ट्रेलियामा घर पालुवा जनावर आयातको कानुन कडा छ । यसकारण एल्बेक परिवारले पिपलाई आफूसँगै घर फर्काउन नमिल्ने भयो । एक त डुंगामा तय भएको यात्रा, जहाजमा गएर टुंगिएको । अर्कोतिर एकदमै कम समय । अनि आफ्नी प्यारी पिपलाई एक्लै बिरानो ठाउँमा कसरी छाड्ने ? घर फर्कने दिन नजिकिँदा उनीहरूले पिपलाई भानुआटुको दक्षिण प्रशान्त टापूबाट लैजाने योजना बनाए । यहाँबाट अस्ट्रेलिया, सिड्नी तुलनात्मक रूपमा छोटो पनि पर्छ । एल्बेक परिवारले सोचेको थियो( अबको ६ हप्तापछि पिपसँग भेट भइहाल्छ । नाका सहज हुनासाथ उसलाई भेट्नेछौं । उसले आफ्नो सानो पुच्छर हल्लाउँदै हामीलाई स्वागत गर्नेछे । अनि हामी डुंगामै उसलाई घर फर्काउनेछौं ।

सोचेजस्तो कहाँ हुन्छ र , कोरोना भुसको आगोझैं फैलियो । एल्बेक परिवार चिन्तित भए । उनीहरूका छोरा निन्याउरा हुन लागे । तर विकल्प केही थिएन । जोका अनुसार उनलाई अस्ट्रेलियाको कडा नियमका कारण पिपलाई जहाजबाट घर फर्काउन लामो समय र प्रक्रिया लाग्ने थाहा थियो ।“मलाई थाहा थियो, पिपलाई आयात गर्नुपर्छ । त्यसपछि उनलाई १० दिन क्वारेन्टाइनमा राख्नुपर्छ,” जोले सिएनएन ट्राभललाई भनेकी थिइन । अनि उनीहरूले आफ्नो डुंगा र पिपका लागि सुरक्षित ठाउँ खोज्ने निधो गरे । पिपलाई कहाँ छाड्ने भन्ने चिन्ताले उनीहरूलाई खाँदै थियो । उनीहरूको उडानका लागि ४८ घन्टाभन्दा कम समय थियो । यो मार्च २७ को कुरा हो । यही दिन जोले एउटा कार भाडामा लिइन । पिपलाई लिएर आठ घन्टा गाडी चलाउँदै दक्षिण क्यारोलिनाको एक टापू पुगिन्। त्यहाँ उनका साथी लिन विलियम्स थिइन् । सानी पिपलाई आफूसँगै घर फर्काउन नमिल्ने भएपछि जोले उसको हेरचाह जिम्मा विलियम्सलाई दिइन् । विलियम्सले पिपलाई केही समय आफूसँग राख्न मानिन् । “पिपको धेरै समय डुंगामै बितेको थियो। अब ऊ विलियम्ससँग भैंसी गोठमा बस्दै थिई,ु जोले त्यो बेलाको समय सम्झिँदै भनिन्, त्यो सम्झिँदा मलाई अहिले पनि कस्तो कस्तो लाग्छ ।”

एल्बेक परिवार पिपलाई विलियम्सको जिम्मा दिएर जहाजमार्फत सिड्नी फर्किए । दुर्भाग्यवश, विलियम्ससँग पहिल्यै फार्ममा दुइटा कुकुर थिए । र, धेरै लामो समय पिपलाई राख्न नसक्ने भइन् । विलियम्सले पिपका लागि नयाँ परिवार खोज्न थाालिन्। विज्ञापन गरिन् जसमा तीन जनाले जवाफ दिए उत्तर क्यारोलिनाकै हिल्सबरोमा बस्ने एलेन स्टेनवर्ग जवाफ दिनेमध्ये एक हुन् । पिप जोसँग जाने निर्णय गर्छे उसैसँग बस्ने सम्झौता थियो,ु स्टेनवर्गले सिएनएन ट्राभललाई भनेकी छन्, ऊ मसँग रमाई । केही दिनमै मसँग बस्न पनि आई । अप्रिल ४ मा पिप स्टेनवर्गकहाँ पुगी । विज्ञापनमा अस्ट्रेलियाका एल्बेक परिवारले पिपलाई किन उत्तर क्यारोलिनामै छोडे भन्नेबारे निकै थोरै विवरण उल्लेख थियो । स्टेनवर्गलाई सुरूमा एल्बेक परिवार कस्तो कठोर होला भन्ने पनि लाग्यो । उनले भनेकी छन्, “डुंगामा यात्रा गर्ने परिवारले पिपलाई बेवारिसे अवस्थामा छाडे अनि उनीहरू अस्ट्रेलिया फर्के भन्ने बुझेँ । मैले ती परिवार कस्ता निर्दयी होलान् भन्ने सोचेकी थिएँ ।” तर जब उनीहरूसँग कुरा गर्ने मौका मिल्यो, मेरा आँखा खुले । त्यसपछि लाग्यो, उनीहरूले जति पिपलाई माया र हेरचाह गर्ने अरू कोही हुनै सक्दैन । मैले उनीहरूबारे पूर्ण विवरण नपाएका कारण गलत धारणा बनाएँ, स्टेनवर्गले एल्बेक परिवारसँगको संवादपछि फेरिएको धारणा सुनाइन् ।

पिप स्टेनवर्गको हेरचाहमा रमाउँदै अमेरिकामा बसिरहेकी थिई । अनि उसको परिवार अस्ट्रेलियामा । जो हरेक दिन बिहान ४ बजेदेखि अमेरिकाबाट अस्ट्रेलियामा कुकुर आयात गर्ने कागजातहरू संकलन तथा बनाउने काममा लाग्थिन् । एल्बेक परिवार पिप र स्टेनवर्गसँग भिडिओ र म्यासेजमार्फत कुराकानी गरिरहन्थे । स्टेनवर्ग पनि दिनकै पिपका फोटा खिच्थिन् र सामाजिक सञ्जालमा राख्थिन् । भन्छिन्, “म सधैं पिपका फोटा सामाजिक सञ्जालमा राख्थेँ। पिपले आफ्ना फ्यान कमाउँदै थिई ।” पिप सामाजिक सञ्जालमा चर्चित भइरहँदा एल्बेक परिवार उसलाई अस्ट्रेलिया फर्काउने कुनै उपाय देखिरहेका थिएनन् । अन्ततः कोरोना महामारी फैलिएसँगै सम्पूर्ण यात्रा प्रतिबन्ध भए । एल्बेक परिवार अमेरिका जाने कुनै सम्भावना नरहेको स्पष्ट भयो । उनीहरू पुग्न नसक्ने भएपछि अब पिप आफैंले एक्लै अस्ट्रेलियाको यात्रा तय गर्नुपर्ने भयो । अमेरिकाबाट कुकुर निर्यात गर्न अमेरिकाबाटै सिफारिस लिनुपर्छ । यसका लागि कुकुरको स्वास्थ्य राम्रो छ भन्ने प्रमाण हुनुपर्छ । रेबिज सम्बन्धी रगत परीक्षण गरिएको हुनुपर्छ । जोले प्रक्रिया बुझाइन्, “यो सबै परीक्षण न्यूयोर्कमा हुन्थ्यो । तर त्यो कार्यालय बन्द भइसकेकाले काम गर्न एकदमै गाह्रो भयो ।” स्टेनवर्गले उता दक्षिण क्यारोलिनामै पिपको जाँच गराइन् । पिपलाई अस्ट्रेलिया पठाउने मापदण्ड पूरा गर्न नियमित खोप र रगत परीक्षणका लागि नजिकैको भेटिरिनरी क्लिनिकमा लगिन्। कागजातहरू संकलनमा गर्दै आफ्नो तर्फबाट सक्दो खटिन् । अन्ततः उनीहरूले अमेरिकाबाट अस्ट्रेलियामा कुकुर पठाउन अनुमति पाए । एल्बेक परिवार र स्टेनवर्ग खुसी भए पनि यो हर्ष धेरै बेर टिकेन । किनकी अमेरिकाबाट अस्ट्रेलिया उड्ने कान्टास जहाजले भनिदियो, हामी अहिले कुकुरहरू जहाजमा पठाइरहेका छैनौं ।

पिपको मायाले एल्बेक परिवार छट्पटिसकेको थियो । जोले प्रयास गर्न छाडिनन् । कैयौं सम्पर्क गरेपछि उनले पत्ता लगाइन्, पिपलाई न्युजिल्यान्ड हुँदै आयात गर्न सकिन्छ । यसका लागि पिप न्युजिल्यान्डको अक्ल्यान्ड सहर आइपुग्नु पर्ने हुन्छ । जोले अस्ट्रेलियाकै जेटपेट्सु नामक पशु आयात कम्पनीमार्फत् पिपलाई लस एन्जलसदेखि अक्ल्यान्ड ल्याउनसक्ने सम्भावना देखिन् । जेटपेट्सले पनि पिपलाई अक्ल्यान्डसम्म ल्याउने बतायो ।

अब अमेरिकामा स्टेनवर्ग उसलाई पठाउने काममा खट्नुपर्ने थियो । तर पिपसँग तीन महिना बिताइसकेपछि स्टेनवर्ग यही समयमा आफ्नो परिवार भेट्न जानुपर्ने भयो । उनले पिपलाई आफ्नी साथी स्टेसी ग्रीनकहाँ छाडिन् । पिप स्टेसीसँग पनि झ्याम्मिएको थियो । स्टेसीलाई पिप खुबै मन परेको सम्झनामा जो जिस्किँदै भन्छिन्, “जब स्टेसीले पिप पाइन्, उनी साँच्चै पिपसँग प्रेममा डुबेकी थिइन् । मलाई त पिप मैले फिर्ता नै पाउँदिनँ कि भन्ने समेत लागेको थियो ।”

स्टेसीले पिपलाई उत्तर क्यारोलिनाबाट लस एन्जलस पुर्याउनुपर्ने थियो । तर उडानहरू सञ्चालन हुने टुंगो थिएन, रद्द भइरहेका थिए । कार्गो उडानमार्फत पु‍र्याउने सम्भावना पनि थिएन । किनकी मे देखि सेप्टेम्बरबीच कार्गोले गर्मी मौसम भन्दै कुनै घरपालुवा जनावर आयात(निर्यातका लागि अनुमति दिँदैनथ्यो । अब जोसँग एउटै उपाय थियो, सामाजिक सञ्जाल । उनले पूर्व तटबाट पश्चिम तटमा यात्रा गर्ने कोही छन् कि भन्दै मद्दत आह्वान गरिन् । जोको यो आह्वानमा “द स्पार्की फाउन्डेसन”मा कार्यरत मेलिसा योङले जवाफ फर्काइन्। यो फाउन्डेसन कुकुर बचाउ अभियानमा संलग्न छ । मेलिसा स्वयंसेवी रूपमा पिपलाई लिएर अमेरिकाभर उडान गर्न तत्पर भइन् । यो खबर पाएपछि स्टेसीले भावुक हुँदै पिपलाई मेलिसाको जिम्मा लगाइन् । पिप मेलिसासँग पनि छोटो समयमै घुलमिल भई । माया गर्ने मान्छे पाएपछि सानी पिप दंग परी । उनीहरूले जुलाइ १९ मा ग्रिन्सबोरोदेखि चार्लोटसम्म यात्रा गरे। त्यहाँबाट लस एन्जलस । पिप जहाजमा मेलिसाको सिटमुनि नै बसिरही । लस एन्जलस पुगेर मेलिसा र पिप एक रात होटलमा बसे । भोलिपल्ट जेटपेट्सको कार्यालय गए । अब पिपलाई लस एन्जलसदेखि अकल्यान्ड पु‍र्याउने जिम्मा जेटपेट्सको थियो ।

जुलाई २१ मा जेटपेट्सले पिपलाई लस एन्जलसबाट अक्ल्यान्ड जाने जहाजमा राख्यो । यता एल्बेक परिवार उनीहरूको जहाज ट्र्याक गर्दै कुरिरहे जो भन्छिन् “हामी त्यही उडान हेरिरहेका थियौं । कहाँ आइपुग्यो भन्दै छट्पटेका थियौं ।” १३ घन्टे उडानपछि जुलाई २३ मा पिप अकल्यान्ड पुगी । तर सिधै एल्बेक परिवारसँग जान उसलाई अनुमति थिएन । त्यहाँबाट मेलबोर्न गएर १० दिन क्वारेन्टाइन बस्नु थियो । विदेशबाट अस्ट्रेलिया आउने सबै घरपालुवा जनावरलाई १० दिने क्वारेन्टाइन अनिवार्य थियो । पुगेकै रात, जुलाइ २४ देखि पिप क्वारेन्टाइन बसी । क्वारेन्टाइन सकेर अगस्ट ३ मा मेलबोर्नदेखि सिड्नी जाने योजना थियो । तर भिक्टोरिया राज्यले त्यही बेला कडा लकडाउन घोषणा गरिदियो । भिक्टोरिया र न्यु साउथ वेल्सको नाका पनि बन्द भयो । पिपसँग भेट्ने एल्बेक परिवारको सपना अझै लम्बियो । मेलबोर्न बस्ने जोका भाइ रब पिपलाई केही दिन आफूसँग राख्न सहमत भए । रबकहाँ बस्दा पिपका लागि चार वटा उडान बुक गरियो, सबै रद्द भए । यतिन्जेल पिपको यो यात्राबारे स्थानीय मिडियाले चाल पाइसकेका थिए । सिड्नी मर्निङ हेराल्डले पिपबारे रिपोर्ट समेत बनायो । उक्त खबरपछि भर्जिन अस्ट्रेलिया एयरलाइन्सले पिपलाई घर पु‍र्याउने जिम्मा लियो । अन्ततः पिप भर्जिन एयरलाइन्सको मद्दतमा अगस्ट ११ गते मेलबोर्नबाट उडी र सिड्नी एयरपोर्ट पुगी । त्यहाँ उसको स्वागतका लागि एल्बेक परिवार मात्र थिएनन् । केही फिल्मकर्मी र थुप्रै स्थानीय मिडिया पनि थिए । एल्बेकहरू र पिपको यो भेट ५ महिनाभन्दा बढीपछिको थियो । त्यो भावनात्मक पुनर्मिलन थियो । “सबभन्दा ठूलो डर यतिका समयपछि पिपले हामीलाई बिर्सिन्छे होला भन्ने थियो,” जोले भनिन्, “मेरा बच्चाहरू पनि धेरै चिन्तित थिए । उनीहरूले पिप आफूहरू नजिक आवोस् भनेर हटडग लिएर गएका थिए ।”

त्यो मिलनको क्षण देखेर सबै चकित खाए । जब पिपले जो, गाइ, म्याक्स र क्यामको आवाज सुनी, ऊ बुरूक्क उफ्रिँदै उनीहरूको काखमै पुगी । “यति लामो पर्खाइपछि उसलाई फिर्ता पाउनु अचम्मको कुरा थियो । हामी निकै खुसी छौं । उसले हामीलाई भुलिनछे,” जोले भनेकी छन् । पिप आएपछि एल्बेकहरूले आफ्नो परिवार पूर्ण भएको महशुस गरे । “मलाई थाहा छ यो कुकुर हो । तर हामी उसलाई हाम्रै सदस्य मान्छौं,ु जोले भनेकी छन् “डुंगामा बस्दा सबैले काम गर्नुपर्छ । पिप केही गर्दिन । र पनि उसलाई हाम्रो चालक दलको सदस्य ठान्छौं ।” अहिले एल्बेक परिवार स्कटल्यान्ड टापूमा सरेका छन् । यो सिड्नीको उत्तरी समुद्री तटमा पर्छ । जोका दुवै छोराहरू स्कुल फर्केका छन् । जो र गाइ टिन्नी नामको माछा मार्ने डुंगामा यात्रा गरिरहन्छन्, पिपसँगै । “पिप आफूलाई डुंगाकै कुकुर ठान्छे र यसलाई अँगालेकी छ,” जो पिपको स्वाभावबारे भन्छिन , “ऊ आफ्नो दैनिकीमा फर्किसकी र रमाएकी छ । डुंगाको अगाडि भागमा सुतिरहन्छे र हामीलाई चाटेर माया गर्दै दिन बिताउँछे ।” आफूहरूले विश्वव्यापी समुद्री यात्रा निरन्तरता दिन पाएका भए जोलाई लाग्छ, उनीहरू यतिबेला फ्रान्सेली पोलिनेसिया वा फिजी जाने क्रममा हुन्थे । तर उनीहरूको डुंगा त अहिले त्यहीँ छ, जहाँ उनीहरूले मार्चमा छाडेका थिए । एल्बेक परिवारले चित्त बुझाइसके, अब डुंगा अस्ट्रेलिया फर्काउन सकिँदैन । उनीहरूले डुंगा बेच्ने निधो गरेका छन् । अहिले उनीहरू स्कटल्यान्ड टापूमै आफ्नो नयाँ जीवनमा रङ भर्न केन्द्रित छन् । उनी केही सकारात्मक हुँदै भन्छिन्, “केही वर्षपछि फेरि डुंगा यात्रा गर्नेछौं भन्ने आश छ ।” एल्बेक परिवार पिपको हेरचाह र घरसम्म पु‍र्याउन सहायता गरेका हरेकसँग सम्पर्कमा छन् । पिपसँग तीन महिना बिताएकी स्टेनवर्ग भन्छिन, “हामीले आजीवन साथी बनाएका छौं । पिपलाई मिस गर्छौं भन्दै सामाजिक सञ्जालका पोष्टमा अहिले पनि प्रतिक्रिया आउँछm। यो वास्तवमै निकै रोचक कथा बनेको छ । यो कथाको एक हिस्सा हुन पाउँदा मलाई निकै खुसी लागेको छ ।” पिपको यात्रा कुनै फिल्मको कथाभन्दा कम पनि थिएन ।