विर्तामोड इस्टुले महासंघलाई बुझायो ज्ञापनपत्र

भद्रपुर, ४ असोज । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) विर्तामोड नगर समितिले शिक्षक कर्मचारीका समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गर्दै शिक्षक महासंघ विर्तामोड नगर समितिलाई ज्ञापनपत्र बुझाएको छ ।

इस्टु विर्तामोड नगर समिति अध्यक्ष रमा ढुंगानाको नेतृत्वमा गएको युनियनको टोलीले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले ६ महिनायता तलवबिहिन हुँदा समेत विद्यालय सञ्चालक रमित हेरिरहेकोले अन्याय परेको भन्दै सहयोग गर्न अनुरोध गर्दै महासंघलाई ज्ञापनपत्र बुझाएको हो ।

अध्यक्ष ढुंगाना र सचिव सि एम खरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ—हाल विश्वनै कोरोना महामारीको शिकार भएको र यसको प्रतक्ष असरबाट नेपालका हरेक क्षेत्र अछुतो नरहेको कुरा सर्वविदित नै छ । त्यसमा पनि विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्र झनै तहसनहस बन्दै गएको छ । शिक्षा क्षेत्रमा पनि निजी विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्नो पसिनाको मूल्य लामो समय देखि नपाउँदा रोगले भन्दा भोकले बढी पीडित हुने अवस्थामा पुगेका छन् । पटक पटक सम्बन्धित निकायलाई गरिएका सबिनय निवेदन, अनुरोध र ईस्टु र प्याब्सन बीच विभिन्न तह र विभिन्न चरणमा भएका सम्झौताहरु निजी विद्यालका संचालक तथा संस्थापकले बेवास्ता गर्दै शिक्षकहरुलाई पूर्ण रुपमा अघोसित बेरोजगारीको शिकार बनाएको तितो यथार्थ पनि छर्लङ्ग नै छ । यसै सन्दर्भमा हाम्रा माग र आवजलाइ अझ प्रभावकारी ढंगले प्रस्तुत गर्दै अगाडि बढ्ने क्रममा नेपाल शिक्षक महासंघको सहकार्य र समन्वयको खाँचो हामीले महसुस गरेका छौं । त्यसैले यस ज्ञापनमा नेपाल शिक्षक महासंघको चासो रहोस् र सम्बन्धित निकायलाई वास्तविकता पुर्याइ सहयोग गरिदिन सादर अनुरोध गर्दछौँ भनिएको छ ।

बैशाख तेस्रो साताबाट आन्दोलित भएको झापा जिल्ला इस्टुका माग सम्बोधन गर्न विद्यालय सञ्चालक अनिच्छुक देखिएपछि पटक पटक पालिका शिक्षा समितिमार्फत माग पूरा गराउन माग पत्र, ज्ञापनपत्र, ध्यानाकर्ष गराउँदै आएको भए पनि विद्यालय सञ्चालकहरूले अटेर गर्दै आएका छन् ।