विश्वप्रकाश महाधिवेशनमा कुन पदमा उठ्नुहुन्छ
महाधिवेशनले नीति र नेतृत्व टुंग्याउँछ । कांग्रेसमा युवालाई पालो दिनुपर्छ भन्ने आवाज उठेका छन् । तपाईंको के तयारी छ ?
सिंगै कांग्रेसलाई तरूणमय बनाउन जरूरी छ । युवाले कांग्रेसको नेतृत्व सम्हाल्ने ढंगले तलैबाट प्रतिनिधि आउने सम्भावना छ । किनभने क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भनेपछि युवाहरूको ठूलो संख्या क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिसम्म आउँछ । अर्कोतर्फ निश्चय नै म महाधिवेशनमा उम्मेद्वार हो । म मैदानमा छु । तर अहिले कुन पदमा उठ्छु भन्ने बेला भइसकेको छैन । नेपालको लोकतान्त्रिक भविष्य र समृद्धि सुनिश्चितताको बाटोमा कांग्रेस महाधिवेशनले दिशा प्रवाह गर्नुपर्छ । मेरो ध्यान अहिले त्यही कुरामा केन्द्रीत छ ।
समसामयिक घटनाक्रमलाई एकैछिन बिर्सेर महाधिवेशनका आँखाले मात्रै हेर्दा कुन पदमा उठ्ने तयारी आफ्नो टिममा गर्नुभएको छ ?
नेविसंघदेखि पार्टी प्रवक्तासम्म मैले खेलेको भूमिकाका आधारमा देशैभरिका साथीहरूले म के पदमा उपयुक्त छु भन्ने मूल्यांकन गर्नुहुन्छ ।
तपाईं के भूमिकामा आउनुहुन्छ भन्ने कुरा कार्यकर्ताले निर्णय गर्ने हुन् कि अहिले भएकै नेतृत्व कसैको फेरो समातेर हो ?
उम्मेद्वारी दर्ता मैले नै गर्ने हो । तर उम्मेद्वारीमा देशभरका साथीहरूको भावना स्वभाविक रूपमा गाँस्नै पर्छ ।
कार्यकर्ताले जे भन्छन् त्यही मान्छु भन्न खोज्नुभएको ?
महाधिवेशनको मैदानमा म हुनेछु । अरू साथीहरूले उम्मेदवारी घोषणा गरे भनेर मैले अहिले नै घोषणा गर्नु प्रवक्ताको कोणबाट मर्यादित हुँदैन ।
पार्टी भित्रका आन्तरिक विवादबारे पनि कुरा गरौं । सभापतिले विभाग गठन गरेपछि विवाद छ । कांग्रेसमा जहिले पनि समयमा किन विभाग गठन गरिँदैन ?
विभाग गठन हुँदा अधिकतम् सहमति जुटाउनु पर्ने हो । हामीले त्यसमा सहमति निर्माण गर्न नसकेकै हो । सहमति नहुँदा विभाग गठन ढिला हुनुमा आलोचना स्वभाविक छ, तर यो विधानविपरीत होइन । सहमति सभापतिले निर्माण गर्न सक्नुभएन या वरिष्ठ नेता सहमतिमा आइपुग्न सक्नुभएन, जे भए पनि नेतृत्वका हिसावले सभापतिले यसको जिम्मेवारी लिनुपर्छ । छ महिना नाघेपछि सभापतिले विभाग गठन गर्न पाउनुहुन्न भनेर कसैले भन्यो भने त्यो गलत हुन्छ ।
महाधिवेशनका मुखमा पद बाँडेर प्रभावित बनाउन खोजियो यसले निष्पक्षताको प्रश्न उठ्छ भन्ने छ नि ?
निर्वाचन गराउने कर्तव्य केन्द्रीय निर्वाचन समितिको हो । महाधिवशेन घोषणा भइसकेपछि कुनै पनि संरचना निर्माण गर्न पाइने छैन भनेर विधानमा लेखिएको छैन । त्यसैले महाधिवेशनतर्फ अगाडि बढ्दा झन् संरचनाहरू बनाउने हो ।
यस्तै विरोध सुशील कोइराला सभापति हुँदा पनि भयो देउवाले त राजीनामा नै दिन्छु भन्नुभएको हो । तपाईंहरू पनि यस्ता विवादलाई किन समर्थन गरिरहनुहुन्छ ?
मेरो बुझाइमा त्यसबेला वरिष्ठ नेता शेरबहादुर देउवाले राखेको असहमति पनि गलत थियो र अहिले वरिष्ठ नेता रामचन्द्र पौडेलले राखेको असहमति पनि गलत छ । गलतलाई निरन्तरता दिने काम नेताहरूले नगर्नु पर्ने हो । तर सुशील कोइराला सभापति हुँदाको विवाद अहिलेभन्दा अलिकति फरक छ । त्यसबेला उहाँले विभाग संयोजकसहित सदस्यहरू एकैपटक गठन गर्नुभएको थियो । तर अहिले विभाग संयोजक गठन गरेको केही अन्तरालपछि मात्रै पूर्णता दिइएको छ ।
विषय बदलौं, अहिले कांग्रेस प्रतिपक्षको भूमिकामा निकै कमजोर भयो भन्ने आलोचना छ । तपाईंहरूको भूमिका किन यति कमजोर ?
हामीले प्रतिपक्षको भूमिका प्रभावारी बनाउन एकीकृत प्राथमिकता तय गरेर जान सकिएन । महाधिवेशनमा अब को भन्ने मात्रै केन्द्रीत भयो । यसमा हामी चुकेका हौं । प्रतिपक्षको अहिले भूमिकामा म आफैं पनि सन्तुष्ट छैन, परिमार्जन गर्दै जानुपर्छ ।
वाइडबडीदेखि पछिल्लो समय कोरोनाका लागि स्वास्थ्य सामग्री खरिदमा घोटला भइरहेका कुरा मिडियामा आइरहेका छन् तर प्रतिपक्षको दह्रो आवाज छैन। भागबन्डाले सभापतिकै मुख बन्द छ भन्ने आरोप छ नि ?
स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारका कुरा उठाउँदा सरकार धम्क्याउँछ भनेर सभापतिले केही दिनअगाडि बोल्नुभएको छ । यसबारे हामीले निरन्तर बोलेका छौं । पद लिनका लागि बोलेन भन्ने होइन । हामीले बोलेको अझै प्रखर भएन कि भन्ने मान्न तयार छु । केही पद देलान् भनेर हाम्रो मुख बन्द भयो भन्नु गलत हो ।
(फागुनमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशन र प्रतिपक्षीको भूमिकाका सन्दर्भमा प्रवक्ता विश्वप्रकाश शर्मासँग सेतोपाटीका प्रशन्न पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश)