भद्रपुर इस्टु तथा प्याब्सन वार्ता विना निष्कर्ष टुंगियो
भद्रपुर, २ असोज । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको माग सम्बन्धमा शिक्षा शाखा भद्रपुरको संयोजनमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
विद्यालय सञ्चालनमा आउनु पूर्व तीन महिनाको तलव भुक्तानीको एक सूत्रीय माग राखेर भदौ १७ गते प्याब्सन, एन प्याब्सन तथा नगरमा सञ्चालित विद्यालयलाई १५ दिने अल्टिमेटम दिएर आन्दोलित युनियनको माग नेपालमै नभएको माग भन्दै प्याब्सन जिल्ला अध्यक्षले व्याख्या गरेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो ।
वार्तामा नगर अध्यक्ष द्रोण अधिकारीले २०७७ बैशाख यता ३ महिनाको खाइपाई आएको तलव आफ्नो माग रहेको प्रस्ताव गरेपछि भद्रपुर नगर अध्यक्ष डिल्ली दुलालले विद्यालय सहज रूपमा सञ्चालन भए त्यस अवधिको तलव उठेको पैसाका आधारमा भागवण्डा गरेर दिन सकिने भन्दै इस्टुको अहिलेको माग सम्बोधन गर्न नसकिने अडान राखेका थिए ।
चरघण्टासम्म चलेको वार्तामा इस्टु र प्याब्सन बीचको अडानको मध्य विन्दुमा जान एन प्याब्सन भद्रपुर नगर अध्यक्ष दीपबहादुर श्रेष्ठले गरेको प्रस्ताव लिखित रूपमा जान इस्टुले गरेको आग्रह प्याब्सन झापा नेतृत्वले जिल्लैभरी तलव मागको आगो लाग्ने भन्दै नेपालमै नचलाइएको आन्दोलनका रूपमा व्याख्या गरेर वार्ता विथोलिन पुगेको थियो ।
जिल्लाको धारणा राख्दै वरिष्ठ उपाध्यक्ष गौरीमान फागोले इस्टु भद्रपुरले उठाएको तीन महिनाको तलव कुनै हालतमा दिन नसकिने भन्दै भद्रपुरमा तलव दिन कागजी सहमती भए जिल्लाभर आगो लाग्ने अडान राखेका थिए ।
इस्टु प्रदेश १ सहसचिव राजु वरालले अशोजबाट विद्यालय सञ्चालन भए त्यस उताको तलव वारेमा कुनै सहमती नचाहिने योत प्राकृतिक सिद्धान्तको नियम भएकोले बैशाखयताको ५ महिने अवधि वारेमा सहमती आवश्यक भएको धारणा राखेका थिए ।
प्रतिउत्तरमा प्याब्सन जिल्ला अध्यक्ष एल पी उप्रेतीले कोभिड १९ का कारण उत्पन्न ५ महिने विसम परिस्थितिबाट सिर्जित समस्या शिक्षक कर्मचारी तथा विद्यालय सञ्चालकको समस्या नभएर राष्ट्रको समस्या भएको जिकिर गरे । अध्यक्ष उप्रेतीले इस्टु भद्रपुरको माग नेपालमै कँही नउठेको फरक प्रकृतिको माग भएकोले भद्रपुरबाट निर्णय गर्नु सान्दर्भिक नहुने धारणा सार्वजनिक गरेका थिए ।
आफ्ना माग सुनुवाइ नहुने निश्चित भएपछि इस्टु भद्रपुर नगर समितिले अशोज ३ गते विर्तामोडमा हुने बृहद जिल्ला भेलापछि त्यहिबाट आन्दोलनको अन्तिम निचोड निकालेर अगाडि बढ्ने प्रतिबद्धता राखेको छ ।