क्यान्सर पिडीत सहयोग संस्था अनुकरणीय
भद्रपुर, ३१ भदौ । झापाका विभिन्न स्थानमा आर्थिक सहयोग संकलन गरी रोगी विरामीहरुको उपचार अभियान चलाउँदै आएका भूपाल बस्नेत आज बिर्तामोडमा आयोजित आफ्नै कार्यक्रममा प्रशंसाको पात्र बने । भूपालका बुवा आमा, गंगामाया तथा नरबहादुर बस्नेतको क्यान्सर रोगका कारण निधन भएको थियो । विपन्न बस्नेत परिवारले असाध्य रोगबाट उपचार नपाई ज्यान गुमाउनु परेको हो । अरु त्यस्ता पीडितहरुले उपचार अभावमा मर्न नपरोस् भनी भूपालले प्रतिष्ठान गठन गरे ।
गंगामाया तथा नरबहादुर क्यान्सर पिडीत सहयोग संस्था स्थापना गरेदेखि आजसम्म विभिन्न कोणबाट सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई कदरपत्र प्रदान गर्दै आज स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भूपाले गरेको काम अत्यन्त पुण्य कार्य भएकाले उनको खुलेर प्रशंसा गरियो । ‘बलियो मान्छेले मात्र गर्न सक्ने काममा हात हालेको’ भनी नेता सिटौलाले बस्नेतको सराहना गरे । उनले यस्तो सामाजिक काममा जीवन समर्पण गर्न जो कोही तयार हुँदैन भन्दै यो कार्यक्रमबाट समाज र राजनीतिक क्षेत्रले पनि भूपालको थप पहिचान स्थापित गरिदिएको बताए ।
सो कार्यक्रममा समाजका लागि केही गर्दै रहेको पात्र भूपालको निरन्तर यात्राका लागि आफ्नो सवारी साधन नभएको अनुभूत गरी इलामको सूर्योदय नगरपालिकाका मनोजप्रसाद पोखरेलले तीन लाख रुपैयाँ मूल्य बराबरको अपाचे १६० सीसी मोटरसाइकल हस्तान्तरण गरेका छन् । मोटरसाइकलको साँचो बस्नेतलाई प्रदान गर्दै कांग्रेस नेता सिटौलाले ठट्यौलो पारामा भने, ‘दाताले उपहार स्वरुप दिएको मोटरसाइकल कुदाउँदा ध्यान दिनुहोला, तपाई नै लड्नुभयो भने यी तमाम आसातित मानिसहरुलाई सेवा गर्ने शरीर नै सक्षम नरहला ।’ कार्यक्रममा तत्कालीन संविधानसभाका सदस्य सुधीरकुमार सिवाकोटीले क्यान्सर र मिर्गौला पीडितहरुको उपचारका लागि चन्दा संकलन गर्नु र अस्पताल–अस्पताल कुदेर रोगीहरुको सेवा गर्नुजस्तो महान कार्य समाज सेवाको ठूलै रुप भएको बताए । सो कार्यक्रमलाई नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरे, प्रदेश सांसद ओमप्रकाश सरावगी, नेकपा जिल्ला सदस्य शिव ढुङ्गेल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेल, बीएण्डसी अस्पतालका सूचना अधिकारी प्रमिश गिरीलगायतले संस्थाको प्रगतिको कामना गरेका थिए ।
संस्थाका अध्यक्ष बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाको उन्नति र प्रगतिका लागि बीएण्डसी अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले २५ हजार रुपैयाँ, अन्तर्राष्टिय झापाली समाजका उपाध्यक्ष पोखरेलले ५ हजार ५१ रुपैयाँ, बिर्तामोड उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष भट्टराईले ११ हजार रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
उक्त संस्थाको कार्य क्षेत्र विस्तार भएसंगै २१ सदस्यीय कार्यसमिति बनाएर कार्य विभाजनसमेत गरिएको छ । संस्थाको अध्यक्षमा बस्नेत नै रहेका छन् भने उपाध्यक्षमा गोविन्दविक्रम गिरी, सचिवमा मेघराज बाँस्तोला, सहसचिवमा विजयकुमार काफ्ले र कोषाध्यक्षमा गौरीमाया चिमरिया रहेका छन् । त्यस्तै सदस्यहरुमा ईश्वर खत्री, कुमार याक्सो, लखन हेमरम, मंगलसिंह राजवंशी, कुमारप्रसाद सिटौला, राजुमाया लुइँटेल, भानुभक्त प्रसाई, निर्मला राई, सुजन भण्डारी, रवीन कार्की, टीका ढकाल, सावित्रा सिवाकोटी, शीला घिमिरे, चन्द्रमणि पौडेल, नवीन पोखरेल र वुद्धिराज मावो छन् ।
संस्थाका सचिव मेघराज बाँस्तोलाले सञ्चालन गरेको कार्यक्रममा सहयोग संस्थाले हालसम्म उपचार सहयोग गरेर पुनःजीवन पाएका क्यान्सर तथा मिर्गौलाका दर्जनौं पिडीतहरुलाई खादा ओडाएर सम्मान प्रदान गरिएको थियो । क्यान्सर पिडीत सहयोग संस्था स्थापनाको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष बस्नेतले आफ्ना आमाबुवाको मृत्युको कारणमात्र जोडेका छैनन्, ढुंगालाई देउता मानेर पूजा गरी पैसा चढाउने धार्मिक मनहरु मानव चोलाका लागि जीवन बचाउन कत्ति पनि पछि हट्ने छैनन् भनी अपेक्षा पनि गरेका छन् ।