देउवाविरुद्धको मोर्चाबन्दीमा सिटौला मौन
लोकेन्द्र भट्ट
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी कसिलो बनाइरहँदा अर्का नेता कृष्णप्रसाद सिटौला भने अझै पनि ‘पर्ख र हेर’ कै अवस्थामा देखिएका छन् । पौडेल समूहले विभाग गठन, क्रियाशील सदस्यता वितरणमा अपारदर्शीता, भ्रातृ संस्थाको म्याद थपलगायत विषयलाई मुद्दा बनाएर पार्टीभित्र संघर्ष गरिरहेको बेला सिटौला भने ‘करिब मौनता’ कै अवस्थामा रहेका हुन् ।
गत फागुनको तेस्रो साता सभापति देउवाले सहमतिवेगर ४७ विभाग मध्ये २० वटा विभाग गठन गरेपछि पौडेल समूह निरन्तर संघर्षमा छ । देउवालाई रोक्न सुरुमा पौडेल समूहले साउन १ मा राधेश्याम अधिकारी नेतृत्वको पार्टी निर्वाचन समितिको साहरा खोजेको थियो । पार्टी विधान विपरीतका गतिविधि रोक्न र पहिलो गरिएका निर्णय खारेजीको मागसहित निर्वाचन आचारसंहिता देखाउँदै पौडेल र महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका थिए । उक्त उजुरीको समितिबाट कुनै सुनवाइ भएन । त्यसपछि नेता पौडेल र महामन्त्री कोइरालाले १५ साउनमा लिखित रुपमै विरोधपत्र पनि दिएका थिए ।
त्यसपछि सोही दिन उनीहरुले सभापतिका पछिल्ला निर्णय फिर्ता हुनुपर्ने भन्दै पार्टी कार्यालयमा पत्रकार सम्मेलननै गरी सार्वजनिक रुपमा विरोध जनाएका थिए । त्यसयता पनि पौडेल समूहले विभिन्न फोरमबाट देउवाको विरोध गर्दै आएको छ । तर सभापति शेरबहादुर देउवाले पौडेल समूहको मागको सुनुवाइ गर्नुको साटो विभागहरु गठन र विस्तारलाई जारी नै राखेका छन् ।
देउवाले पौडेल समूहको आवाजलाई नसुनेपछि इतर समूहले थप दवाव दिनलाई चरणबद्ध संघर्षमा उत्रिने अन्तिम रणनीति बनाइरहेको छ । त्यसका लागि पौडेल समूहले पार्टीमा तेस्रो धारको नेतृत्वकर्ता समेत भनेर चिनिने सिटौलाको साथ खोजेपनि अपेक्षाकृत नतिजा नदेखिएको हो । देउवाविरोधी मोर्चालाई सशक्त बनाउनकै लागि पौडेल समूह सिटौला समूहको साथको खोजीमा छ । सोही अभिप्रायका साथ पौडेल समूहले शनिबार गरेको भर्चुअल बैठकमा निम्तो पठाएको थियो ।
पौडेल समूहको आमन्त्रणअनुसार सिटौला समूहबाट नेता गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरीले मात्र सहमति भए । पौडेलले एसएमएस र फोनमार्फत सिटौलालाई पनि बैठकमा सहभागी हुन आग्रह गरेका थिए । तर गृहजिल्ला झापामा रहेका सिटौलाले पौडेल समूहको बैठकमा उपस्थित हुन अनिच्छा देखाए । पौडेल समूहसँग एजेण्डागत सहकार्य गर्ने मुडमा गगन र प्रदीप देखिएपनि उनीहरु पनि अन्तिममा सिटौलाकै इशारामा अघि बढ्ने निश्चित छ ।