चियाको मूल्य बढ्यो श्रमिकको तलव भुक्तानी भएन
भद्रपुर । झापाको नगदेवाली हरियो चियाको मूल्य इतिहासकै उच्चविन्दुमा पुगको छ । दिनरात पसिना बगाउने मजदुरका समस्या भने उस्तै छन् । दुई वर्ष अगाडि लागू भएको ज्यालादर मजदुरले पाउन सकेका छैनन् । पूर्व सहमतिअनुसार ज्याला नपाएको भन्दै झापाका चिया श्रमिकले आफ्ना मागप्रति गम्भिर र जिम्मेवार हुन सरकार र चिया मालिकलाई पटक पटक आग्रह गरेका छन् । मजदुर नेताले ऐनमा तोकेअनुसार ज्याला नदिए पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका भए पनि माग सुनुवाइ भएको छैन ।
श्रम ऐनअनुसार ०७५ साउनदेखि ०७६ वैशाख ३० सम्मको वृद्घि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला केही बगान मालिकले अझै भुक्तानी नगरेको श्रमिकहरूको गुनासो छ । रकमका लागि बगान मालिकसँग पटकपटक आग्रह गर्दासमेत भुक्तानी नपाएको चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङको भनाइ छ ।
श्रम ऐन २०७४, श्रम नियमावली २०७५ मा भएको पारिश्रमिक, उत्पादन, सञ्चयकोष, सार्वजनिक विदा, बिरामी विदा, घर विदा, प्रसुति विदा, क्रिया विदा, चाडपर्व खर्चलगायत व्यवस्था गरी सामाजिक सुरक्षाकोषमा सूचीकृत गर्न आग्रह गर्दा समेत सुनुवाइ नभएको अध्यक्ष तामाङले जनाएका छन् ।
‘कोभिड–१९ को कारण सबै क्षेत्र धरापमा भए पनि चिया क्षेत्र भने इतिहासकै उच्च आम्दानीमा रहेको जनाउँदै अखिल नेपाल ट्रेड युनियन प्रदेश १ इन्चार्ज भूपाल सापकोटाले तयारी चिया प्रतिकिलो भारतीय रूपैया दुई सयमा बिक्री भइरहेको प्रष्ट्याउँछन् ।
गत वर्ष यस समयमा हरियो चियापत्ति प्रतिकिलो २० रुपैयाँ र तयारी चिया भारू ८५ मा बिक्री हुने गथ्र्यो तर अहिले ठीक दोब्बर बढी मूल्य बढ्दा पनि काम गर्ने श्रमिकलाई न्युनतम ज्याला दिन आनकान भइरहेको सम्बद्ध श्रमिकको दुखेसो हो । उनीहरू कोरोना संक्रमणको जोखिमबीच बगान तथा कारखानामा काम गर्न बाध्य भएको नेपाल सरकारले तोकेको मापदण्डअनुसार आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको समेत गुनासो गर्छन् ।
झापा जिल्लामा स्थायी र अस्थायी गरी २५ हजार चिया मजदुर कार्यरत छन् । चिया श्रमिकको वृद्घि भएको रकम एक जना श्रमिकले करिब २५ हजार रुपैयाँसम्म भुक्तानी पाउनुपर्ने देखिएको छ । चिया श्रमिकले गत वर्ष श्रम ऐन कार्यान्वयनको माग गर्दै ४४ दिनसम्म चिया क्षेत्र नै ठप्प पारेर आन्दोलन गरेका थिए । ०७६ वैशाख ३० मा चिया उद्योगीले ऐन कार्यान्वयन गर्ने सहमति जनाएपछि आन्दोलन टुंगिएको थियो । उक्त सहमतिमा ०७५ साउनदेखि ०७६ वैशाख ३० सम्मको ऐनअनुसार वृद्घि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला बगान मालिकले श्रमिकलाई ०७६ चैत मसान्तभित्र भुक्तानी दिने सहमती थियो तर अहिलेसम्म पनि सहमती कार्यान्वयन नभएपछि झापाली चिया श्रमिक आन्दोलनमा उत्रनु पर्ने अवस्थामा पुगेका छन् ।