बिर्तामोडको नीति तथा कार्यक्रम सार्वजनिक

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ । नगरपालिका परिसरमा आज आयोजित एक कार्यक्रमका बीच पाँचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुकासाथै प्रमुख प्रशासकीय अधिकृत खतिवडाको बिदाइ गरियो ।

कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं। १ का प्रदेश सदस्य एकराज कार्की, नगरप्रमुख ध्रुव शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं लगायतले ‘नगर विकास योजना’ पुस्तिका सार्वजनिक गर्नुभयो । नगरपालिकाले चालू आर्थिक वर्षमा १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको १३९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बजेटलाई पारदर्शी तवरले खर्च गरिने बताउनुभयो । जनताले आफूहरुलाई चुनेर पठाएको बताउँदै उहाँले भन्नुभयो, “जनताले हामीलाई विश्वास गरेर पठाएका छन्, हामीले जनभावना समेटेर समृद्ध बिर्तामोड बनाउन कुनै कसर बाँकी राख्नुहुन्न ।” उहाँले सबै कर्मचारीहरुलाई मुस्कानसहितको सेवा दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य कार्कीले नगरपालिकाले तय गरेको ‘पूर्वाधारयुक्त नगर, विषादीरहित कृषि र व्यवसायको अभिबृद्धि, सभ्य र स्वस्थ्य नागरिक, बिर्तामोड नगरपालिकाको समृद्धि’ नारा साकार बनाउन सबै जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिनुभयो । “गत वर्षभन्दा कमजोर नीति तथा कार्यक्रम आएको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसको महामारीको असरले चारैतिर समस्या भएको छ ।” उहाँले नीति तथा कार्यक्रम राम्रो भएर र बजेट छुट्याए मात्र विकास नहुने बताउँदै बजेट कार्यान्वय महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “समृद्ध नगर बनाउन सबै क्षेत्र लाग्नुपर्छ, बजेट सफलताको शुभकामना छ ।”

कार्यक्रममा नेकपा बिर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाईंल नगरपालिकको नीति तथा कार्यक्रमले नगरलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो । आकर्षक बजेट ल्याएर मात्र समृद्धि नहुने बताउँदै त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । “असारे विकासको अन्त्य गरेर सरकारले तय गरेको समय अनुसार नै विकास निर्माणमा लाग्नु पर्छ”, उहाँले भन्नुभयो, “बजेट सदुपयोग र पारदर्शी अति आवश्यक छ ।” बिर्तामोडमा फोहोर व्यवस्थापन चुनौतीका रुपमा देखिएकाले सोको व्यवस्थापनका लागि आवश्यक पहल थाल्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोडका सभापति एवम् वडा नं। ३ का अध्यक्ष भोजराज सिटौलाले बिर्तामोड नगर सरकारले जनताको पक्षमा काम गरिरहेको बताउनुभयो । राजनीतिक स्वार्थभन्दा माथि उठेर जनताका लागि काम गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “जनताभन्दा माथि कोही छैन, सन्तुलित रुपमा सहकार्य गरेर अघि बढ्नुपर्छ ।”

कार्यक्रममा नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा र कर्मचारी राजेन्द्रप्रसाद पौडेललाई बदाई गरिएको छ । उमेर हदका कारण सेवा निवृत्त हुनु भएका खतिवडालाई प्रमुख अतिथि, नगरप्रमुख, उपप्रमुख लगायतले फूलमाया, सम्मानपत्र, मायाको चिनो एवम् दोसल्ला ओढाएर बिदाइ गर्नुभएको छ । खतिवडालाई नगरपालिकाका विभिन्न शाखाका तर्फबाट समेत मायाको चिनो प्रदान गरिएको थियो । बिदाई कार्यक्रममा नगर क्षेत्रका दर्जनौँ संघसंस्थाले सम्मान र मायाको चिनो प्रदान गरेका छन् । कर्तव्यनिष्ट राष्ट्रसेवक, भद्र एवम् शालीन व्यक्तित्वका धनी खतिवडाले तीन दशक बढी समय राष्ट्रसेवामा समर्पित गर्नुभएको छ । उहाँ नेपाल सरकारको उपसचिव पदमा रहेर सेवा निवृत्त हुनुभएको हो ।

नगर प्रहरीका कमाण्ड र उपकमाण्डरलाई दज्र्यानी चिह्न समेत प्रदान गरिएको कार्यक्रमको स्वागत उपप्रमुख पवित्रा महतरा प्रसाईंले गर्नुभएको थियो भने सञ्चालन नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले गर्नुभएको थियो ।