सरकारबाट विदा हुँदै युवराज खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट विदा हुने भएका छन् । राष्ट्रपतिले मनोनित गर्ने राष्टियसभाको एक सदस्यमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि अर्थमन्त्री खतिवडा सरकारबाट बाहिरिने भएका हुन् । मनोनित एक सदस्यमा मन्त्रिपरिषद्बाट उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । मनोनित सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय सचिवालयबाट भएको छ, उनले भने, अब राष्ट्रियसभाका अर्का सदस्यलाई राजीनामा गराएर अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन । अर्थमन्त्री खतिवडाको कार्यअवधि यही २० गते कार्यावधि सकिँदैछ ।
राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा आएका खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको हो । उनले कार्यकाल टुंगो गर्ने गोलाप्रथाका क्रममा दुई वर्षे कार्यकाल छानेका थिए । संवैधानिक व्यवस्था अनुसार संसद सदस्य नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री बन्न पाउँछ । त्यही व्यवस्थाअनुसार अनुसार उनी भदौ २० पछि मनोनित नभए स्वतः विदा हुने छन् । अहिले उनले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । उनले सरकारमा आएदेखि तीनवटा बजेट पनि ल्याएका छन् । राष्ट्रियसभामा निरन्तरता प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री खतिवडालाई नै कायमै राख्ने पक्षमा थिए । तर, उपाध्यक्ष गौतमले आफ्नो अडान छाडेनन् । सचिवालयमा अध्यक्ष दाहालसहित बहुमत सदस्य गौतमको पक्षमा थिए । खतिवडाको बहिर्गमनसँगै अर्थमन्त्रीमा पार्टीको विवाद मिलाउन संयोजकको भूमिका निर्वाह गरेका महासचिव विष्णु पौडेलको चर्चा भइरहेको छ । कार्यदलको प्रतिवेदनले दुवै अध्यक्ष खुसी भएसँगै अर्थमा उनको चर्चा सुरु भएको हो । त्यसो त सुरेन्द्र पाण्डेको पनि नाम चर्चामा छ तर उनी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन् । यस्तोमा प्रधानमन्त्री आफ्ना विश्वासपात्रमध्ये एक पौडेललाई नै देशको ढुकुटीको चाबी सुम्पने मनस्थितिमा रहेको स्रोतको दाबी छ ।