मेची अस्पतालले बनायो छुट्टै कोभिड उपचार केन्द्र
भद्रपुर । जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा बिरामी जान छाडेको भन्दै चौतर्फी आलोचना र दबाबपछि मेची प्रादेशिक अस्पताल भद्रपुरको हाताभित्र सञ्चालनमा ल्याएको कोभिड– १९ उपचार केन्द्र अन्ततः अन्यत्र सार्न लागिएको छ । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई मेची अस्पतालको निर्माणाधीन भवन राख्न त्यहाँ ५० शैय्याको कोभिड– १९ उपचार केन्द्र बनाइएको छ ।
अब अस्पतालको निर्माणाधीन भवनमा कोरोना संक्रमित राख्ने तयारी लगभग पूरा भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरले जानकारी दिए । ‘सङ्क्रमितलाई राख्न ५० शैयाको बेड तयार भइसकेको छ,’ डा ठाकुरले भने, ‘कोभिड–१९ उपचार केन्द्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने समेत निर्णय भइसकेको छ, अब सेनाले त्यस विषयमा अस्पताललाई जानकारी गराउँछ ।’ ‘सङ्क्रमितको उपचारका लागि अस्पतालका डा गोविन्द कँडेलको संयोजकत्वमा आठ सदस्य आरडिटी समिति गठन यसअघि नै गरिसकेका छौं, त्यही समितिमा आबद्ध चिकित्सकको टोलीले उपचार गर्ने छन्,ु उनले भने । अस्पतालको योजना एक सय शैयाको उपचार केन्द्र बनाउने थियो, तर अहिले ५० शैया बनाइसकेको बताउँदै उनले भने, ‘अस्पताल प्रशासन र सञ्चालक तथा व्यवस्थापन समिति ७५ शैयाको बनाउने योजनासाथ काम गरिरहेका छन् ।’
जिल्लामा कोभिड उपचार केन्द्र बनाउन प्रदेश तथा सङ्घीय सरकारले सहयोग गरेको उनले बताए । अस्पतालकै पुरानो भवनमा बनाइएको आइसोलेसन वार्डमा गत साउन १९ गतेदेखि कोरोना संक्रमण पुष्टि भएका बिरामी राखेर उपचार सुरु गरेपछि अस्पतालमा अन्य उपचारका लागि जाने बिरामी सङ्ख्या ह्वातै घटेको थियो । एक मात्र सरकारी अस्पतालमा कोरोना संक्रमित बिरामी राखिएपछि संक्रमण फैलिन सक्ने त्रासकै कारण गरिब तथा असहाय बिरामी जान छाडेपछि चौतर्फी आलोचना सुरु भयो । यस विषयमा नेपाली कांग्रेसले समेत जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै कोभिड–१९ उपचार केन्द्र अन्यत्र सार्न माग राख्दै दबाब दिएको थियो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा यसै निर्वाचन क्षेत्रमा सङ्घीय सांसद राजेन्द्रप्रसाद लिङ्देनले पनि कोभिड–१९ उपचार केन्द्र अन्यत्र सार्न माग राख्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। २२ शैय्याको आइसोलेसन तीन दिनमै भरिएपछि अस्पताल प्रशासनलाई थप चुनौती थपियो । त्यसपछि अस्पतालले कोभिड–१९ उपचार केन्द्र अन्यत्र सार्न कदम छिटो चालेको हो ।