ह्वाट ईज दिस ? खाएको भए पल्किने थिस्

गौरीगंज । के तपाईं कर्कलो अर्थात कच्चुको तरकारी खानुभएको छ ? यदि छैन भने एकपटक खाएर हेर्नुहोस् । स्वास्थ्य र स्वादिष्टको हिसाबले प्रायले यो सिजनमा रूचाउने धेरै तरकारीमध्येको एक हो । प्रायको भान्सामा कच्चुको तरकारी पाक्ने गर्दछ । अंग्रेजी र नेपाली भाषामा मिश्रण गरिएको एक कथन छ, “ह्वाट ईज दिस ? खाएको भए पल्किने थिस्” । वास्तव मै यो तरकारी पारखीलाई पल्काउने खालकै हो । झापामा राजवंशी, गनगाई आदिमा यो निक्कै लोकप्रिय सब्जी मानिन्छ ।

नेपालमा कर्कलो कच्चुलाई एक निम्न स्तरको सब्जी मानिन्छ र खासै खाने गरिँदैन । बारीमा जताततै हुँदा पनि यसको महत्व नबुझ्दाँ त्यत्तिकै सुकेर गएको हुन्छ । पकाउन नजान्दा कोक्याउने हुँदा पनि मानिसले अपहेलना गरेको हुनुपर्छ । महत्व बुझ्न सके र विभिन्न परिकार बनाउन जाने यो एक डाइनामिक भेजिटेवलको रुपमा लिन सकिन्छ । यो प्रायजसो नेपालको सबैजसो ठाउँमा पाइन्छ । कर्कलोको वैज्ञानिक नाम “लोकेसिया एस्क्युलेन्टा” हो । कर्कलो वनस्पती जगतमा पर्ने फूल फुल्ने सब्जी हो । भारतीयहरुले यसलाई अर्बी भनेर चिन्छन् ।

कर्कलो अथवा कच्चु एक प्रकारको पिंडालु जस्तो कन्दमुल हो, जुन स्वास्थ्यका हिसाबले निकै पोसिलो मानिएको छ । प्रशस्त मात्रामा सल्फर, एमोनिया, नाइट्राइट, जिंक आदि पाइने कर्कलो केही नफल्ने जग्गामा पनि मज्जाले खेती हुने कन्दमुल तरकारी हो । देहाततिर यसलाई कच्चु भन्दछन् । यो धेरै प्रकारको भएपनि गाउँघरतिर कालो कच्चु, सेतो कच्चु, दुधालु कच्चु, सिल्लीगुरिया कच्चु, माना कच्चु, बाँस कच्चुको नामले चिनिन्छ । बजारमा यसको मूल्य प्रतिकेजी ५० रूपैयाँ देखि ८० रूपैयाँसम्म पर्छ । भिटामिनले भरिएको कर्कलो, यसको गानो , पात र डाठबाट नै धेरै परिकार बन्छन्। सब्जी प्रयोग गरेर नेपाली खाना, यसको गानो हालेको मासको दाल निकै स्वादिलो र स्वास्थ्यवर्धक हुन्छ ।

विदेशीले पनि पिँडालु हालेको मासको दाल निकै चाख मानेर खान्छन्। यसले दाललाई चिप्लो मात्र बनाउँदैन, एक किसिमको छुट्टै स्वाद थपिदिएको हुन्छ । अझ सो दाललाई नेपाली घ्युमा जिम्बु झानेमा अति नै उत्तम हुन्छ । विदेशतिर कर्कलोका विभिन्न सुप, सलाद जस्ता स्वस्थकर खाना तयार गरिन्छ । कच्चुसंग माछा हालेर झनै स्वादिलो हुन्छ । नेपाल मात्र नभई विश्वका धेरै देशमा यो सब्जी किन्न पाइन्छ । क्याल्सियम अल्जालेट पर्याप्त पाइने यो सब्जीमा म्याग्नेसियम, युरिक एसिड र केही प्रतिशत सिस्टिन समेत पाइन्छ । समय(समयमा कर्कलो खाने गर्नाले रक्तअल्पता हुनबाट पनि जोगिन्छ कर्कलो नियमित सेवनले शरीरको वजन घटाउन, मुटुसम्बन्धी समस्या कम गर्न, डाइबिटिज हुनबाट बच्न, हाइपरटेन्सन कम गर्न निकै उपयोगी मानिएको छ । त्यति मात्र नभई इम्युनिटी पावर (रोग प्रतिरोधात्मक शक्ति) बढाउन,क्यान्सरबाट बच्न,स्वस्थ आँखाको लागि, खाना पचाउन, उच्च रक्तचाप सन्तुलन गर्न, नर्भसनेस हटाउन, भ्रुण बचाउन, हड्डी मजबुत बनाउन, छालाको सुरक्षा गर्न यो वनस्पती अति नै उपयोगी साबित भएको छ ।

कर्कलोमा प्रशस्त आइरन पाइने हुँदा गर्भवतीका लागि उत्तम मानिन्छ । कमिलाले टोक्यो भने टोकेको ठाउँमा कर्कलोको डाँठको रस प्रयोग गरियो भने दुखाई कम हुन्छ र आयुर्वेदमा पनि यसको प्रयोग व्यापक गरेको पाइन्छ । यो मानिसको लागि मात्र नभई सुँगुर र बुङ्गुरको लागि पनि प्रमुख खाना हो । कच्चुको पात र डाठ सुङ्गर बुङ्गुर ले खुबै मनपराउँछ ।—कोचिला निउज