अग्रज पत्रकार नकुल काजी किन काँग्रेस भए त ?
भद्रपुर । अघोषित रूपमा देश निरंकुश प्रवृत्ति, शोषण, उत्पीडन र कम्युनिस्ट अधिनायकवादको बाटोमा लागेको पीडाले ७३ वर्षे उमेर पार गर्दै गरेका अग्रज पत्रकार नकुलकाजी पाण्डेलाई पनि पिरोल्न छोडेन ।
नागरिकले दिएको जनादेश कम्युनिस्ट नेता तथा कार्यकर्ताको स्वार्थ पूर्ति गर्ने साधन मात्र बन्दै जाँदा देश र जनतामाथि घात सिर्जना हुँदा निरंकुश प्रवृत्ति, शोषण, उत्पीडन र कम्युनिस्ट अधिनायकवादको बाटो फराकिलो हुने अवस्था रोक्न पनि काजी लोकतन्त्रको छहारी काँग्रेस प्रवेश गर्न उत्साहित भएका हुन् ।
जीवनको उत्तरार्धमा राजनीतिक दलको सदस्यता लिएका काजी उर्वर समय दल निरपेक्ष भएर कलम जीवि पत्रकारको पहिचानमा रहेका थिए । ३ वर्षे कम्युनिस्ट सरकारको शासन भोगेपछि काजीको मन भित्र लोकतन्त्र रक्षाका लागि बौद्धिक वर्ग काँग्रेसको रूखमुनि गोलवन्द नभए कम्युनिस्ट अधिनायक वादले जनताको शासन समाप्त पार्ने संकेत अनुभूति भयो ।
संविधानले समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको छ तर राज्य सञ्चालनको जिम्मा पाएका शासक एकतन्त्रीय अधिनायकवादको साहारा लिएर बहुमतको दम्भ लिएर नागरिकले देख्ने गरी शोषण, कमिशनतन्त्र, भ्रष्टाचार गरी लुट मच्चाइ रहेको अवस्थामा काजीले सहन सकेनन् । लोकतन्त्रको इतिहाँस बोकेको काँग्रेस मात्र एउटा सशक्त फोरम हुने छ, जहाँ लोकतान्त्रिक विचारधारा भएका सवै गोलवन्ध भएर अधिनायकवादलाई परास्त गरी समाजवादी शासनका लागि राज्य व्यवस्था सञ्चालित हुने वातावरण बन्ने छ । यही सपना साँचेर काजीले चारतारे झण्डा र रूखको छहारी रोजेका हुन् ।
महामारीले देश ठप्प हुँदा श्रमजीवि वर्ग बाँच्नका लागि राज्य गुहार्दा आवाज सुन्नु पर्ने सरकार कमिसन र पद सुरक्षाका लागि हराइ रहेको छ । नेपाली नागरिक राज्यको उपेक्षामा परेका छन् । राष्ट्रवादको नारा फालेर जनमत बटुलेको कम्युनिस्ट सरकार तराइको हजारौं विगाह जमिन भारतले मिचेको विषयमा मौन छ । रोग र भोकले प्रताडित गरिब निमुखा अकालमा मर्दै छन् । राज्य कोषको करोडौं रकम अपचलन गर्नेहरूको तजविजमा राज्य चल्नु पर्ने बाध्यता छ । यी सवै शोष र उत्पीडन अन्त्य हुने वातावारण निर्माणका लागि पनि काजी जस्ता हस्ती काँग्रेसमा आँधी भएर पस्नु पर्ने अवस्था आइसकेको छ । जसले राज्यको विकृत राजनीति सफा गरी सुन्दर व्यवस्थाका लागि वातावरण निर्माण गरिदिओस् ।