कमल गाँपालिकामा र इलाममा पहिलो पटक समुदायमा कोरोना संक्रमण

भद्रपुर । झापाको कमल गाृँपालिकामा पहिलो पटक समुदाय स्तरमा एक वृद्धलाई संक्रमण देखिए पछि हाल क्वारेन्टाईन बाहिरका व्यक्तिलाई पनि संक्रमण देखिने क्रम बढेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्का अनुसार आईतबार थप ३ जना समुदायका व्यक्तिमा संक्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङ गर्दा बृद्धका आफन्त र दुई जना व्यवसायीमा संक्रमण देखिएको हो । विद्युत प्राधिकरणका एक कर्मचारी सहित हाल सम्म कमलमा ८ जनामा संक्रमण भईसकेको छ । संक्रमण फैलिए पछि गाउँपालिकाले लकडाउन लागु गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार, शनिबार मध्य रातीदेखी एक हप्ता अर्थात आउदो शनिबार राती १२ बजे सम्म पुर्ण लकडाउन गरिएको छ । औषधी, ग्यास र दूध डेरी पसलबाहेक सबै ब्यवसाय पुर्ण रूपमा बन्द गरिने उल्लेख छ । वडा कार्यलयको काम काज , क्वारेन्टाइन निर्माण बाहेक सबै निर्माण कार्य, अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबैखाले सवारीसाधन समेत पुर्ण रूपमा बन्द गरिने गाउँपालिकाले जनाएको छ ।

तर, कमल गाउँपालिकाको केर्खामा कोभिड १९ को संक्रमण रोक्ने बहानामा सार्वजनिक सडक तथा गल्लीमा ढाट लगाएर अवरोध खडा गरिएकोमा आवतजावतमा कठिनाइ भएकोले स्थानीयले गुनासो पोखेकाछन् । कोरोना जोखिम न्यूनीकरणका लागि स्वस्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने , टोल प्रवेशमा निषेध गर्ने, गाँउपालिका प्रवेश गर्ने मार्ग तथा भित्री सडकनै अवरोध हुने गरि ढाट राख्ने कार्य भएको पाईएको छ । सडकनै अवरोध हुने गरि ढाट राख्ने गर्दा सहज ढंगले आवगमन गर्नमा समस्या हुदैआएको छ । जस्तो सुकै विषम परिस्थतिमा पनि यस्ता कार्यहरु गर्न वा नगराउन संक्रमण ऐन २०२० को दफा २ उल्लेख गरिएकोे भएपनि कमल गाउपालिकामा यस्तो गतिविधि गरिरहेको पाइएको छ ।

यसैगरी, दमक नगरपालिकामा समुदायका व्यक्तिमा कोरोनाको संक्रमण देखिन थालेपछि तरकारी पसल समेत खुल्न नदिई कडाई गरिएको लकडाउनमा बैंक तथा बित्तिय संस्थाहरु भने खुल्लै रहँदा जोखिम बढेको छ । औषधि पसल र अस्पतालहरु मात्रै सञ्चालन गर्न दिने गरी नगरपालीकाले कडा लकडाउन गर्ने भनिरहेका बेला बैंक तथा बित्तिय संस्थाहरु भने अटेर गरी सञ्चालन भईरहंदा जोखिम बढेको भन्दै स्थानीय चिन्तित बनेका छन् । बजार पसल बन्द भए पनि बैंक र सहकारीहरु खुल्लै रहँदा जोखिम बढेको दमक ७ सुर्ति लाईनका अनिल भट्टराईले बताए । आफ्नो घर छेउमै रहेको बैंक दैनिक सञ्चालन भैरहेको भन्दै उहाँले कर्मचारी र त्यहाँ आउने सेवाग्राहीका कारण जोखिम बढेको बताए । बैंकहरुमा मोरङको उर्लाबारी, पथरी देखी झापाकै बिर्तामोड सम्मबाट कर्मचारीहरु आउने गर्दा जोखिम बढेको उनको भनाइ छ । नगरपालीका र प्रहरीलाई भने पनि, बन्द गर्न कडाई नभएको जवाफ आएकोमा, उनले नागरिकलाई तरकारी समेत किन्न नदिने बैंकहरुलाई भने पैसा कमाउन दिने भन्दै नगरपालीका प्रति आक्रोस व्यक्त गरे ।

यता, इलाममा पनि समुदायमा कोरोना संक्रमण फैलिन थालेको छ । इलामस्थित स्वास्थ्य कार्यालयले जिल्लामा कोरोना संक्रमण समुदायमै पुगेको जनाएको छ । कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले सन्दकपुरमा पुष्टि भएको संक्रमणबाट समुदायमै कोरोना पुगेको पुष्टि भएको बताए ।

क्वारेन्टिनमा राखिएका व्यक्ति, सुरक्षा गण हुँदै समुदायस्तरमा कोरोना पुष्टि भएको हो । जिल्लाको सन्दकपुर गाउँपालिका–४, माबुका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन तेस्रो साता यहाँका ५० जनाको पिसिआर परीक्षण गर्दा एक जनप्रतिनिधिसहित स्थानीय जलविद्युत आयोजनाका तीन कर्मचारीमा कोरोना देखिएको थियो। त्यसपछि २७ र पुनः १ सय २७ स्थानीयको स्वाब संकलन गरी पठाइएकामा शुक्रबार चार जनामा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ । संक्रमित हुनेमा यसअघि संक्रमित भएका जलविद्युतका कर्मचारीका परिवार र वडा ३ का अर्का युवक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।