सामान्य बाढीमै बाँध ढल्दा हल्दिवारीमा हलचल
भद्रपुर । खोला कटान रोक्न निर्माण गरिएको बाँध निर्माण मापदण्ड विपरित गुणस्तरहीन निर्माण भएपछि खोलामा मिसिएको घटनाले हल्दिवारीमा हलचल मच्चिएको छ ।
झापाको हल्दिवारी गाउँपालिका २ स्थित नमुना टोल जोगाउन देउनिया खोला किनारमा बनाइएको सिमेन्टको बाँध भत्किएपछि गुणस्तरही काम भएको भन्दै सरोकारवाला बीचमा हचल आएको हो ।
गत साउन २२ र २३ गते आएको बाढीले बाँधका रूपमा निर्मित पर्खाल भत्किएको स्थानीयको भनाइ छ । अघिल्लो वर्ष निर्मित सो बाँध सामान्य बाढीबाट खोलामा मिसिएको छ ।
भद्रपुर ७ र हल्दिवारी २ को सिमानमा बग्ने देउनिया खोलाको कटानबाट जोगाउन १० लाख रुपैयाँ बजेट तत्कालिन जिल्ला भू–संरक्षण कार्यालय झापा मार्फत निकासा भएको थियो । बजेट आउने जानकारी पक्का भएपछि वडा नम्बर २ का सदस्य खगेन राजवंशीको संयोजकत्वमा ०७५ वैशाख ८ गते ४५ जनाको वडा भेलामार्फत अध्यक्ष राजकुमारी ताम्ली राई, सचिव दिपक थापा कोषाध्यक्ष राधा गिरी, सदस्यहरू यम बहादुर गिरी, डेटमोइ हेमरम, असारमाया राई र इन्द्र विष्ट रहने गरी उपभोक्त्ता समिति गठन गरिएको थियो ।
गठित नयाँ कार्यसमितिका सदस्यको सही छैन तर, निर्माण कार्यको अनुगमनका लागि समितिमा खगेन राजवंशी संयोजक रहने गरी सुकलाल राजवंशी, शान्तादेवी गौतम र सरमाया लिम्बूलाई सदस्यमा चयन गरिएको छ । उनीहरूले भने सही गरेको बैठक पुस्तिकामा उल्लेख छ । जिल्ला भू–संरक्षणले ०७४।७५मा हल्दिवारी स्थित गोलधापको भुसुडी खोलाका लागि पठाइएको ३० लाखमध्ये १० लाख देउनिया खोलाको सुकुमबासी बस्तीमा ल्याइएको थियो । तटबन्धनबाट सो क्षेत्रमा रहेका बस्ती र सयौँ परिवारको जग्गा जोगाउने उद्देश्य राखिएको थियो । पक्की तटबन्धन निर्माण वर्षाको समयमा सुरू गरिएको थियो ।
बालुवामाथि ढुङ्गा ओछ्याएर पानी परिरहेको समयमा ढलान गरेको स्थानीयले देखेर ठेकेदारलाई पटक –पटक त्यसो नगर्न अनुरोध गर्दा वास्ता नगरी काम जारी नै राखेका थिए । २७ दशमलव ६० मिटर लामो पक्की बार एक वर्षमात्र टिकेको स्थानीयले देवकला राइले जानकारी दिइन् ।
गुणस्तरहीन र लापरवाहीका कारण बार भत्किएको स्थानीयको आरोप छ । खोलाको बहाव अवस्था बारेमा स्थानीयसँग जानकारी नलिइ इन्जिनियरले नक्साका आधारमा बार वनाउन लगाएका कारण ढलेको नमुना टोलका निलकण्ठ दङ्गालको आरोप छ ।
खोलाको धार हेरेर तटबन्धन गर्नुपर्नेमा नक्सा हेरेपछि कसरी हुन्छ ? दंगालले भने । भद्रपुर ७ ले देउनिया खोलामा निर्माण गरेको बिस्रान्ती घाटमा तटबन्धन गरेर खोलाको धार पश्चिम तर्फ धकेलेपछि यो वर्षमात्र एक विगाह जमिन कटान गरेको उनले बताए । खोलाले पश्चिम तर्फ कटान सुरू गरिरहेको दंगालले देखाए । सो क्षेत्रमा वडा कार्यालयले बाँसका बिरुवा रोप ेपनि कटान सुरू गरेको उनको भनाइ छ ।
गुणस्तरहीन निर्माणका कारण बाँध ढलेको अधिकांश स्थानीयको आरोप छ । सोझा सिधा र निरक्षर व्यक्तिलाई समितिमा राखेर बाठा मान्छेको कमाइ खाने भाडो भएको स्थानीय रोहित खतिवडाको आरोप छ । स्थानीयको भनाइ नै नसुन्ने गाउँ तथा वडा कार्यालयकै कारण यस्तो भएको उनको गुनासो छ ।
समितिमा बसेपनि आफुलाई केही थाहा नभएको समितिकी सदस्य डेटमइ हेमरम बताउँछिन् । कति खर्च भयो के के गरियो मलाई केही थाहा छैन उनले भनिन् । वालुवा माथि नै बार वनाउन थालेपछि गहिरो वनाउँ भन्दा उनीहरूले मानेन् । काम सुरू भएपछि कसैले बोलाएनन् उनले भनिन् ।
ल्याप्चे लगाउने महिलालाई उठाएर अध्यक्ष बनाए के के भयो मलाई केही थाहा नभएको समितिकी अध्यक्ष राजकुमारी ताम्ली राइले बताइन् । ढलानका लागि गिटी चाल्नु पैसा दिन्छु भन्दै दुई टयाक्टर गिटी चालेँ । पैसा अहिले सम्म पाएको छैन । गर्मी थियो चाल्न नसकेपछि मिक्स गिटी हालेर उनीहरुले ढलान गरे ।
खगेन रजवंशीले पटक –पटक आएर गाउँपालिका जाउ यता उता भन्दै लगे । कागजमा कता कता ल्याप्चे थिचायो म जान्दीन उनले सुनाइन् । खगेन प्रति आक्रोसित हुदै निर्माण स्थलमा नै गएर उनले यो काम गुगस्तरहीन भएको बताइन् ।
पहिलो वर्ष ३ लाख २५ हजार पेश्की लिएर काम गरेकोमा सवै खोलाले बगाइदिएको समितिका सदस्य इन्द्र विष्टको भनाइ छ । दोस्रो पटक आएको बाँकी बजेटको विषयमा केही जानकारी नभएको उनले बताए । जग नै नखनी निर्माण गरेका कारण ढलेको उनले बताए । गुणस्तरहीन कामका कारण बार ढलेको स्थानमा स्थानीयको बाक्लो उपस्थितीसँगै वडा तथा पालिकासँग रुष्ट देखिएका थिए । निर्माण गरिएको बारको जग जमिनतर्फ छ भने अर्कोभाग खोलामा डुबेको छ ।
ताम्लीको साथमा सिटीजिन बैङ्कको एउटा सकिएको चेक र बैठक पुस्तीका मात्र छ । पुस्तीकामा अधिकांश बैठकमा सही छैन भने जथाभावी पानामा कोरमेट गर्दै निर्णय गरिएको छ । हिसाव फरफारक गरेको निर्णय पुिस्तकामा बैठक मिति ०७६ असार लेखिएको छ भने उपस्थितिमा सही नै छैन । कतीपय निर्णयमा अध्यक्ष लगायतको किर्तेसही समेत गरिएको जनाइएको छ ।
उपभोक्ता मार्फत मौखिक सहमतिमा ०७५।७६ मा काम गरेको ठेकेदार सन्तोष राजवंशीले बताए । समितिबाट १ लाख ८० हजार रकम समेत नपाएको उनको गुनासो छ । ०७४।७५ मा ३ लाख २५ हजार र बाँकी बजेटको दोस्रो वर्षमा काम सम्पन्न गरिएको उनले बताए । बारको अगाडि ढुङ्गासहितको तारजाली लगाएर मात्र पक्की बार बनाउनु पर्नेमा सो नगरेका कारण खोलाले कटान गरेपछि बार ढलेको उनले प्रस्ट पारे ।
खोलाको उत्तरपट्टि तारजाली गरेर मात्र पक्की बार बनाउन इन्जिनियर सहितले सल्लाह दिदा स्थानीयले नमानेपछि पानीले हानेर भत्काएको वडा नम्बर २ का सदस्य एवम अनुगमन समितिका संयोजक खगेन राजवंशीले बताए । तार जालीका लागि रकम निकासा नभएपछि बारको काम टिकाउ हुन नसकेको उनको भनाइ छ । भेलामा उपस्थित भएर सही गरेपछि गठित नयाँ समितिमा सहीको आवश्यक नभएको राजवंशीले बताए ।