निजी अस्पताललाई कोभिड उपचार केन्द्र बनाउने

यो सरकारको आदेश हो, मान्‍नै पर्छ : सञ्‍चारमन्त्री

काठमाडौं । सरकारले निजी अस्पताललाई पनि कोभिड अस्पताल ९उपचार केन्द्र० मा रुपान्तरण गर्ने गरी निर्णय लिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । काठमाडौंसहित देशका प्रमुख सहरी क्षेत्रमा कोरोना तीव्र गतिमा फैलिँदै गएपछि मन्त्रिपरिषद्‍ले जुनसुकै अस्पताललाई नियन्त्रणमा लिएर कोभिड उपचार केन्द्रमा परिणत गर्ने निर्णय गरेको हो । अहिले केही अस्पतालले बिरामीको उपचार गर्नै छाडेका छन् । कोभिडका बिरामीको पनि परीक्षण गरेर रेफर गर्ने क्रम बढेको छ । उनले भने,“अब कोभिडका बिरामीको उपचारका लागि सरकारले जुनसुकै अस्पताल नियन्त्रणमा लिन सक्ने गरी निर्णय लिएको छ ।” खतिवडाले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीका लागि सरकारी, सार्वजनिक र सामुदायिक अस्पतालका अतिरिक्कत निजी, सहकारी र गैरनाफामुलक अस्पताल पनि प्रयोग गर्न सकिने बताए । “आवश्यकता अनुसार कुनै पनि अस्पताललाई कोभिड १९ को मात्रै उपचार केन्द्र बनाउन सकिनेछ” उने भने, “यस कार्यमा असहयोग र बाधा, विरोध गर्नेलाई कडा कारवाही गरिनेछ ।”

उनले अहिले महामारीको अवस्थामा रहेकाले देशका सबै स्वास्थ्य संयन्त्र परिचालित हुनुपर्ने बताए । “महामारीको अवस्थामा रहेका छौं, यो अवस्थामा स्वास्थ्य क्षेत्रका सबै संयन्त्रहरु परिचालित गर्नुपर्ने छ” उनले अगाडि भने, “सुविधाको मात्रै उपचार गर्ने र असुविधाको उपचार नगर्ने भन्‍ने हामीलाई मौका छैन । कोभिडको मात्रै बिरामी हेर्छु अर्को हेर्दिनँ भन्‍न थालियो भने हामीले पार लगाउन सक्दैनौं । ” उनले कोरोनाले महामारीको रुप लिइसकेकाले अब कोरोनाका डेडिकेटेड अस्पताल थपिने बताए । “कोरोना डेडिकेटेड अस्पताल मात्रै बनाउने निर्णय भएको छ । अब जतासुकै कोरोनाको उपचार गरेर हुँदैन, कोभिडको मात्रै उपचार गर्ने अस्पताल थप्दैछौं” उनले भने, “त्यसका लागि निजी अस्पतालमा पनि प्रयोगमा ल्याउँछौं । सबै स्वास्थ्य संस्थाले यो निर्णय पालना गर्नु पर्छ । यो सरकारको आदेश हो ।” खतिवडाले अस्पतालैपिच्छे बिरामी धाइरहने अवस्ता अन्त्य गरिने बताए । “अस्पतालै पिच्छे बिरामी धाइरहनुपर्ने अवस्था रहनु हुँदैन” उनले भने, “बिरामी भर्ना नगर्ने भन्‍ने हुँदैन । परीक्षण मात्रै गरेर बिरामी रेफर गर्ने क्रम पनि अब अन्त्य हुन्छ ।”