भारतीय राजदूत भेटघाटमा सक्रिय

काठमाडौं । भारतको ७४ औँ स्वतन्त्रता दिवसका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरेपछि काठमाडौंस्थित भारतीय राजदूतले सक्रियता बढाएका छन् । २०७६ कात्तिकमा नेपाली भूमि समेटेर भारतले नक्सा जारी गरेपछि बिग्रिएको सम्बन्ध सुधार्ने प्रयासस्वरुप भारतीय राजदूतले विशेष गरी सत्तारुढ दलका नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका हुन् । भारतीय राजदूत विनय मोहन क्‍वात्राले राजनीतिक भेटघाटलाई बढाउने क्रममा सत्तारुढ दलका शीर्ष नेताहरुलाई उनीहरुकै निवाससम्म पुगेर छलफल गरेका छन् । अगस्ट १५ मा प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन सम्वाद भएपछि राजदूतले सम्बन्ध सुधार्ने प्रयासस्वरुप भेटघाट अघि बढाएका हुन् । यसबीचमा उनले सत्तारुढ नेकपाका दुई शीर्ष नेताहरुलाई भेटेको खुलेको छ । उनले यही सोमबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमै पुगेर भेटघाट गरेका छन् ।

नेकपाभित्र देखिएको विवाद समाधानको दिशामा गइरहेको अवस्थामा भारतीय राजदूतले राजनीतिक सक्रियता बढाएका हुन् । ओलीले गत बुधबार नेकपाको विवाद पाँच दिनभित्र मिल्ने दिशामा अघि बढ्ने बताएका थिए । त्यस्तै अध्यक्ष दाहालले पनि बुधबार नेकपाको विवाद अबको साता दिनमा किनारा नै लाग्‍ने बताएका छन् । राजदूत क्‍वात्राले सोमबार अध्यक्ष दाहाललाई भेटे लगत्तै मंगलबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनको निवास कोटेश्‍वर पुगेर भेटेका छन् । दुवै नेताको सचिवालयले राजदूत क्‍वात्रासँग दुई देशबीचको सम्बन्धन तथा समसामयिक राजनीतिक मुद्दा र सीमा विवाद पनि कुराकानी भएको बताएका छन् । भेटका क्रममा राजदूत क्‍वात्राले सीमा विवाद दुई देशको उच्च तहबाट हल गर्नुपर्ने बताएको स्रोतको दाबी छ । सीमा विवाद हलका लागि हाल परराष्ट्र सचिवस्तरीय वार्ता संयन्त्र पनि छ । तर नेपालले कर्मचारीको तहबाट नभइ राजनीतिक तहमै सीमा विवाद समाधानका लागि संवाद आवश्यक रहेको बताउँदै आएको छ । तर भारतले नेपालले पटक पटक गरेको वार्ता प्रस्तावलाई नकार्दै आएको छ ।

यसअघि १५ अगस्तको संवाद भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालले नयाँ नक्सा निकालेकै यताको पहिलो हो । त्यसक्रममा प्रधानमन्त्री ओलीले मोदीको छिमेक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्विपक्षीय सहयोगका लागि नेपाल तयार रहेको बताएका थिए । ओली मोदी संवादमा कोभिड(१९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफलका साथै मिलेर काम गर्ने समझदारी भएको थियो । दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्विपक्षीय मुद्दामा सम्वाद जारी राख्‍ने सहमति भएको थियो । यसअघि गत साउनमा भारतीय राजदूत क्‍वात्रा नेकपाका नेता रघुवीर महासेठको जन्मदिनको पार्टीमा सहभागी हुन भैंसेपाटी पुगेका थिए । महासेठ उपाध्यक्ष वामदेव गौतमनिकट मानिन्छन् । उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्तावसहित आफूलाई ओलीको पक्षमा उभ्याएपछि राजदूत क्‍वात्रा महासेठको जन्मदिनमा पुग्‍नुलाई पनि अर्थपूर्ण मानिएको थियो ।