लापरबाहीले कोरोनाबाट बुवाको ज्यान गएको भन्दै छोरीले दायर गरिन् मुद्दा

माेरङ । विराटनगर विद्युत प्राधिकरणमा कार्यरत एक व्यक्तिको कोरोना संक्रमणका क्रममा स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्नुपरेको भन्दै पीडित परिवारले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेको छ।

बुधबार पीडित परिवारकी २२ वर्षीया छोरी निलिमा दाहालले ५७ वर्षीय बुवा सिताराम दाहालको स्वास्थ्य उपचारमा लापरबाही गरेकाे भन्दै प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, कोशी अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान लगायतका संस्थाविरुद्ध रिट दायर गरेकी हुन्।

दाहालले उपचारमा हेल्चेक्र्याई भएको र अकालमा ज्यान गुमाउनु परेको हुँदा घटनाको छानवीन र दोषी उपरमाथि कडा कानूनी कारबाहीको माग गर्दै रिट दायर गरेकी हुन्।

साउन २६ गते कामको सिलसिलामा उनी संक्रमित भएको हुनसक्ने परिवारको भनाइ छ। त्यस लगत्तै दाहाललाई कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

रिटमा दाहालले साउन २८ गते दिउँसो १२ बजे आइसोलेसनमा पुगेर जानकारी लिएको बताएकी छन्। सो क्रममा सितारामले आइसोलेसनमा सोधपुछका लागि स्वास्थ्यकर्मी कोही नपुग्ने, खाने सुत्ने व्यवस्थासमेत नभएको र स्वास्थ्य अवस्थामा समेत असहज हुँदा स्वास्थ्यकर्मीद्वारा वास्ता नगरिएको निलिमाले रिटमा उल्लेख गरेकी छन्।

सोही क्रममा बेलुका एकैपटक सञ्चारमाध्यमबाट बुबा सितारामको मृत्यु भएको खबर सुनेको उनको भनाइ छ। हाल निलिमा बाहेक उनको घरमा परिवारका सदस्यहरुमा समेत पीसीआर रिपोर्ट पोजेटिभ आएको र होम आइसोलेसनमा रहेको बताइएको छ।

तीन तहको सरकारसमेत जनताको स्वास्थ्यमा गम्भीर हुन नसकेको उनको गुनासो छ। जनताको स्वास्थ्यप्रति तीन तहकै सरकार जिम्मेवार नभएर एकअर्कामा आरोप प्रत्यारोपमा उत्रिएको उनको भनाइ छ।

अर्कोतर्फ कोरोना संक्रमणपछि श्वासप्रश्वासमा समस्या भएको र अक्सिजन तथा भेन्टिलेटर अभावमा कोभिड उपचार केन्द्रमा उनको मृत्यु भएको चिकित्सकहरुले बताउँदै आएका छन्।

संक्रमण राखिने अस्पतालहरुको क्षमता सुधार नभएको, सघन उपचार कक्ष अव्यवस्थित रहेको, अत्यावश्यक भेन्टिलेटर सञ्चालनमा आउन नसकेको अवस्थामा बिरामीले ज्यान गुमाउनु परेको भन्दै संक्रमितको उपचार गर्न आवश्यक परमादेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ।

त्यसैगरि परमादेश माग गर्दै दायर रिटमा बिहीबार सुनुवाई हुने उच्च अदालत विराटनगरले जनाएको छ। – देश सञ्‍चार