नेकपा एमाले दल बिधिवत दर्ता
काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमाले दल दर्ता गर्ने निर्णय गरेको छ । आयोगले झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँचबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ जानकारी दिए । दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ । दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयजना भन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणित गरेपछि आयोगको बैठकले एमालेलाई दर्ता गरेको श्रेष्ठले जानकारी दिए ।
आयोगले मागअनुसार एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह दिएको छ । अब केही दिनभित्रै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने तयारी आयोगले गरेको छ । गत असार दोस्रो हप्ता तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि निवेदन परेको थियो। २०७५ साल जेठ २ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर ने क पा दल बनेपछि एमाले खाली थियो ।