नेपालमा आज एक हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा आज एक हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा एक हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म देशभर १३ हजार ९२६ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गरिएको छ । कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८५ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६२ दशमलव २ प्रतिशत रहेको छ ।

कोरोना भाइरसका कारण नेपालमा आज थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा। जागेश्वर गौतमले थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा मोरङ, काभ्रे, नवलपरासी, बाँके, तनहुँ, कास्की र धनुषाका एकरएक जना रहेका छन् । योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११४ पुगेको छ । बाँकेको नेपालगन्जमा कोरोना संक्रमणकै कारण ६२ वर्षीय पुरुषको समेत मृत्यु भएको छ ।

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नवलपरासीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्तालका निर्देशक डाक्टर रवि शाक्यले बताए । ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि साउन ३० गते आइसीयूमा भर्ना गरिएको थियो । यस्तै कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ निवासी ५० वर्षीय महिलाको आईसीयूमा उपचारको क्रममा गएराति राति मृत्यु भएको छ । मृतक महिलामा सुगर, मुटुको समस्या थियो ।

यसैगरी काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय संक्रमित वृद्धको पनि मंगलबार नै मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको समेत मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । ज्वरो तथा श्वासप्रश्वासको समस्या भएर २२ गते भर्ना भएका थिए । ती पुरुषमा सुगर र मिर्गौला रोगी थिए ।