जनताको जीवन जोगाउन सरकार गम्भीर भएन : काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ लिदीका जनताको जीवन जोगाउन सरकार किन गम्भीर भएन भन्दै प्रश्न उठाएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परेर १६ जनाको मृत्यु भएको छ भने केही अझै बेपत्ता छन् ।

शनिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो भन्दै प्रश्न गरिएको छ । शर्माले भने, ‘जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ? जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठूलो उदाहरण अर्को के हुनसक्छ ?,’ जुगल गापाको वडा नम्बर २ का लिदि, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँ आदि वस्तीहरुका जनताले पहिरोको जोखिम बुझेर करिब दस दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार पुगेन जीवन लिन पहिरो पुग्यो । पहिरोमा जीवन गुमाहरुनेहरुले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुर्हादा पनि सरकारको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा नसार्नु राज्यको अक्षम्य गल्ती भएको काँग्रेसको ठहर छ । प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामथ्र्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्व सूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको भएको काँग्रेसले सम्झाएको छ ।

कोरोनाको महामारीसँग जुध्न असफल भइरहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको शर्माले बताए । कोरोनाको बढ्दो आक्रामकता र देशका विभिन्न स्थानमा बाढी पहिरोको निर्मम चोटप्रति गम्भीर तदारुकता साथ कार्य गर्न काँग्रेस तीनै तहका सरकारहरुलाई अपिल गरेको छ ।