पाकिस्तानी दूतावास अगाडी प्रदर्शन

काठमाडौँ । पाकिस्तानले आफ्नो ७४ औं स्वतन्त्रता दिवस मनाइ रहँदा नेपालस्थित पाकिस्तानी दूतावास अगाडी प्रर्दशन गरिएको छ । राष्ट्रिय एकता अभियानले काठमाडौँको महाराजगञ्जस्थित पाकिस्तानी दूतावास अगाडि शुक्रवार प्रदर्शन गरेको हो । पाकिस्तानमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि भइरहेको हिंसा बन्द गर्न माग गर्दै सो प्रदर्शन गरिएको अभियानका अध्यक्ष विनय यादवले बताए ।

पाकिस्तानी सरकारले त्यहाँ हिन्दु, बौद्ध र क्रिष्टियनहरुमाथि भइरहेको ज्यादती र हिंसालाई रोक्न कुनै पनि कदम नचालेका कारण आफूहरुले बाध्य भएर प्रदर्शन गरेको उनले बताए । आज उनीहरुको स्वतन्त्रता दिवस भएका कारण विशेष ध्यानाकर्षण गराउनका लागि यो प्रदर्शन गरिएको उनले बताए ।

पाकिस्तानमा रहेका हिन्दु,, बौद्ध र क्रिष्टियनहरुमाथि मुसलमानहरुले हिंसा गरिरहेको, मन्दिर तोडफोडका साथै बलजफ्ती विवाह गर्ने र धर्म परिवर्तन गराउने काम भइरहेको तर पाकिस्तानी सरकार मौन बसेको आरोप लगाउँदै अभियानसले सो प्रदर्शन गरेको हो ।