दमक नगरपालिका भित्र समुदायमा कोरोना संकम्रण

दमक । झापाको दमक नगरपालिका भित्र समुदायमा कोरोना संकम्रण फैलिएको छ । दमक नगरपालिका भित्र एकैपटक ६ जनामा कोरोना संक्रमण देखिएको पहिलोपटक हो । दमक नगरपालिका स्वास्थ शाखाका अनुसार संक्रमित मध्ये दमक ७ की एक महिला हुन भने अन्य ५ जना भने कर्मचारी रहेको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए । अन्य संक्रमितहरु नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको कर्मचारी भएको खुल्न आएको छ । संक्रमित हुने प्राधिकरणका कर्मचारीमा एक महिला र ४ पुरुष छन् । जसमा महिला ४७ वर्षीया हुन भने दुई पुरुष ३४ वर्षीय, एक पुरुष ४२ वर्षीय र एक पुरुष ४५ बर्षीय हुन् । त्यस्तै अर्र्की संक्रमित महिला दमक ७ की १६ वर्षीया किशोरी हुन् । उनी यही साउन १६ गते काँकडभिट्टा नाकाहुँदै भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

यस्तै काभ्रेको धुलिखेल अस्पतालमा क्यान्सरको उपचारको लागी गएका दमक ५ का एक पुरुषमा समेत कोरोना पोजेटिभ देखिएको छ । उनी पनि कोरोनाको शंका नभई क्यान्सरको उपचारका लागी गएको बेला पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनलाई पनि कहाँबाट संक्रमण भयो भन्ने पुष्टि हुन सकेको छैन् ।

गत बुधबार १०७ जनाको मास टेस्टीङ गरि पिसिआर परीक्षण गर्दा ती ६ जनाको रिपोर्ट भने पोजेटिभ आएको हो । दमकबाट विहिबार गरिएको अझै २ सय जनाको पिसिआर परीक्षणको रिपोर्ट भने आउन बाकी रहेको वताईएको छ । संक्रमितलाई कोभिड अस्पतालको आइशुलेसनमा पठाउने तयारी भईरहेको जनाईएको छ ।

यसैवीच, समुदायमा समेत संक्रमण फैलिन थालेपछि समाधानमा कस्तो कदम चाल्ने बारे निर्णय लिन नगरपालिकाको आकस्मिक बैठक बसिरहेको छ । यस संक्रमणले समुदायस्तरसम्म संक्रमण फैलिएको हुन सक्ने नगर स्वास्थ्य शाखाका अधिकृत भट्टराईले वताए । हिजो बिहिबार नै कोरोनाको संक्रमण समुदायसम्म फैलिनसक्ने आशंकामा दमक नगरपालिकाले आज शुक्रवारदेखि दमकबाहिरबाट दमक प्रवेशमा रोक लगाएको छ । नगरपालिकामा नगर प्रमुखको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समितिको आज बसेको बैठकले सो निर्णय गरेको प्रबक्ता गीता अधिकारीले जानकारी दिइन् । बैठकले बेलुकी ४ बजे सम्ममा सबै पसल बन्द गरि सक्नुपर्ने, होटलमा ग्राहक राखेर सेवा दिन नपाउने , बाइकमा एक जना भन्दा बढी र सिटि सफारी, अटो रिक्सा, भ्यान आदिमा २ जना भन्दा बढी यात्रु बोक्न नपाइने जस्ता निर्णयहरु पनि गरेको छ ।

यसैगरी दमक नगरपालिकासंग पूर्वी सीमा जाडिएको झापाको कमल गाउँपालिकाले गाउँपालिका र सबै वडा कार्यालयहरुबाट प्रदान गरिदै आएको सेवा तत्कालका लागि बन्द गरेको छ । गाउँपालिकाले वडा कार्यालयहरुलाई पत्राचार गर्दै गाउँपालिका कार्यालयसगै रहेको क्यान्टीन संचालन गर्दै आएका ब्यक्तिहरु कोरोना सन्क्रमितको कन्ट्रायक ट्रेसिङमा परेकाले पीसीआर परीक्षण गर्नुपर्ने हुँदा अर्र्को सूचना जारी नहुन्जेल सम्म सेवा बन्द गर्न सर्कुलर गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठद्वारा हस्ताक्षर गरि जारी गरिएको सर्कुलरमा सो सम्बन्धिको जानकारी वडाबासीमा वडा कार्यालयहरुलाई आफै गराउन पनि भनिएको छ ।

यता भद्रपुर नगरपालिकास्थित विद्युत प्रधिकरणको कार्यालय पनि शिल्ड गरिएको छ । प्राधिकरणमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखा परेकोले अर्को सूचना नगरेसम्म कार्यालय शिल्ड गरिएको सो कार्यालयले जनाएको छ ।