‘पत्रकार बानियाँको मृत्यु रहस्यमय’– महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको मृत्युलाई रहस्यमय भन्दै गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । बानियाँ महासंघका पूर्व केन्द्रीय सचिव हुन् । महासंघले आज शोक वक्तव्य जारी गर्दै पत्रकार बानियाँको रहस्यमय ढंगले भएको निधन बारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गरेको हो ।

विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु¥याएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत थिए भन्दै महासंघले यही २०७७ साल साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेका बानियाँकोे शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको नेपाल प्रहरीले जानकारी दिएको उल्लेख गरेको छ । पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।