मेचीनगर नगरपालिकामा दोस्रोपटक समुदायमा कोरोना भाइरसको संक्रमण फैलिदै

भद्रपुर । झापाको मेचीनगर नगरपालिकामा दोस्रोपटक समुदायमा कोरोना भाइरसको संक्रमण देखापरेको छ । केहीदिन अघि मेचीनगर १० धुलावारी बजारका १५ वर्षिय युवामा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो । त्यसलगत्तै संक्रमित युवाका परिवारसहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकास्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका लागि १ सय २ जनाको थ्रोड स्वावको नमूना संकलन गरिएको थियो ।

नगरपालिकाले समुदायस्तरमा गरेको नमूना संकलन परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाएको थियो । ती मध्ये मेचीनगर १० स्थित आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत एक चिकित्सकसहित चार जनामा कोरोना भाइरसको संक्रमण देखापरेको मेची नगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिए । वरालका अनुसार मेचीनगर ७ का एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।उनी नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । यसअघि संक्रमित देखिएका मेचीनगर १० का १५ वर्र्षीय किशोरका परिवारका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाकी ५ जनाको रिपोर्ट आउन बाकी छ । बुधबार पुष्टिभएका ४ जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ ।

चिकित्सकसहित समुदायस्तरमा एकै पटक ४ जनामा कोरोना संक्रमण देखिए पछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको बैठक बसेर थप निर्णय गर्ने बताइएको छ । यसअघि समुदायमा कोभिड १९ को संंक्रमण देखापरेपछि नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको सम्पन्न बैठकले नगरका ९ र १० का सबै क्षेत्रमा हिडडुलमा समेत कडाइ गरिएको र अर्को निर्णय नभइञ्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।