गौरादहमा उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई सम्मान
गौरादह । स्थानीयतहले विकास निर्माणलगायत भौतिक पुर्वाधारका कार्यहरू उपभोक्ता समितिमार्फत गर्न भनेर उपभोक्ता समिति गठन गरेपनि अन्ततः ठेक्कादार मार्फत नै गर्ने गरेको पाईन्छ । यसरी ठेक्का दिँदा केही रकम मुनाफा लिएर उपभोक्ता समितिले ठेक्का दिने गरेको चलन पुरानै हो । तर, यहाँको एक उपभोक्ता समितिले ठेक्का नदिई आफ्नै बलबुताले रकम अनुसारको कार्य सम्पन्न गरि वडा कार्यालयलाई जिम्मा लगाएका छन् । जसका कारण उपभोक्ता समितिले वाहवाहि मात्र पाएनन् वडाबाट सम्मान पनि पाएका छन् ।
गौरादह नगरपालिका वार्ड नं. १ को एक उपभोक्ता समितिलाई विनियोजित रकम अनुसारको समयमै काम सम्पन्न गरेपछि प्रोत्साहन स्वरूप वडा कार्यालयले सम्मान गरेको छ । गौरादह नगरपालिकाद्वारा विनियोजित २० लाख रूपैयाँमा पुल निर्माण गर्न जिम्मा दिएको उपभोक्ता समितिलाई वडा नं। १ ले मायाको चिनो प्रदान गरेर आज सम्मान गरेको हो ।
वडा अध्यक्ष भण्डारीले सामाजिक दुरी कायम राख्दै उत्त पुलको उद्घाटनसमेत गरेका छन् । उपभोक्ता समितिले कुनै ठेकेदारलाई ठेक्का नदिई रकम अनुसार समयमै आफैले काम गरेर उदाहरणीय कार्य गरेको ठहर भए अनुसार वडा कार्यालयले समितिलाई मायाको चिनो प्रदान गरेको थियो । वडा कार्यालयले आगामी आर्थिक वर्ष २०७७।७८ मा पनि उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई प्रोत्साहन स्वरूप सम्मान गर्ने वडा अध्यक्ष भण्डारी बताए । उपभोत्ता समितिमा सचिव बलराम गुरूङ्ग, कोषाध्यक्षमा सारदा रिजाललगायत थिए । पुल उद्वघाटन कार्यक्रममा कार्यपालिका सदस्य देवीमाया श्रेष्ठ, टोलविकास समितिका अध्यक्ष छत्र श्रेष्ठलगायतको उपस्थिति थियो ।