प्रअ चौधरीलाई हटाइएको निर्णय त्तत्काल कार्यान्वयन नगर्न आदेश
शिवगञ्ज । झापाको शिवसताक्षी –७ चन्द्रडाँगीस्थित शुकराज माविमा राजनीतिक हस्तक्षेप गर्दै प्रधानाध्यापक राजनारायण चौधरीलाई हटाइएको बिषय अदालत पुगेको छ । सम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षतामा रहेको विद्यालय व्यवस्थापन समितिको गत श्रावण ६ गतेको निर्णय अनुसार प्रधानाध्यापक चौधरीलाई सो पदबाट हटाई सोही विद्यालयमा कार्यरत अर्का एक शिक्षकलाई नियुक्त गरेको बिषय उच्च अदालत विराटनगरमा पुगेको हो । उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधिस शिवनारायण यादवको एकल इजलासले आज बिहिबार जारी गरेको आदेशमा श्रावण ६ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन आदेश दिएको छ । निवेदक राजनारायणका तर्फबाट अधिवक्ताद्धय सन्तोषकुमार प्रसाइँ र तिलकसिंह पाण्डेले खगेन्द्र घिमिरेलाई विपक्षी बनाई अदालतमा चौधरीनै प्रधानाध्यापक कायम रहनुपर्ने तर्क पेश गरेका बताइएको छ ।
प्रधानाध्यापक चौधरीलाई विना कारण फरक राजनीतिक आस्था र विचार राख्ने भएकै आधारमा सो विद्यालयको प्रधानाध्यापक पदबाट हटाएर नयाँ प्रअ नियुक्ती गरिएको भन्दै नेपाल शिक्षक संघ र नेपाल विद्यार्थी संघले समेत आपत्ति प्रकट गरेका छन् । संघको आज वसेको आकस्मिक बैठक बसी प्रअ चौधरीलाई पदमुक्त गर्ने निर्णय राजनीतिक आस्थाबाट प्रेरित भएको भन्दै शिक्षक महासंघका सवै कार्यक्रम वहिष्कार गरिने निर्णय भएको संघका अध्यक्ष बिष्णुबहादुर सुब्बाले जानकारी दिए ।
महासंघको बैठक बोलाई चौधरीका लागि छलफल चलाइदिनका लागि पटक पटक आग्रह गर्दा महासंघका अध्यक्ष बेनुप्रसाद कार्कीले बैठक नबोलाएको भन्दै अन्यायमा परेका शिक्षकलाई न्याय दिलाउने काममा महासंघ चुप लागेको भन्दै आजका मितिभन्दा पछाडि सञ्चालन हुने महासंघको बैठक, भेला अन्य कुनै कार्यक्रममा संघले बहिष्कार गर्ने समेत निर्णय भएको उनले वताएका छन् ।
पत्रकारहरुसंगको कुराकानीका क्रममा अध्यक्ष सुव्वाले शिक्षा नियमावली विपरीत पूर्वाग्रही ढंगबाट एकाएक चौधरीलाई प्रधानाध्यापकको जिम्मेवारीबाट हटाइनु खेदजनक भएको बताएका छन् । यस्तै, शिक्षक संघका जिल्ला नेता कुमार खतिवडाले पनि नेकपा सम्बद्ध जनप्रतिनिधिहरुले पदीय मर्यादा र शैक्षिक मूल्य मान्यताको समेत ख्याल नराखी राजनीतिक पूर्वाग्रह राखेर शिवसताक्षी, दमक लगायतका स्थानीय तहमा फरक आस्था र विचार राख्ने प्रधानाध्यापकहरुलाई गलहत्याउने काम गरिरहेको आरोप लगाए ।
यसैगरि नेपाल विद्यार्थी संघ झापाले समेत सत्तारुढ नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु साझा र निष्पक्ष जिम्मेवारीमा रहनुपर्नेमा ठिक विपरीत अन्य राजनीतिक र आस्था र विचार राख्ने प्रधानाध्यापकहरुलाई धमाधम हटाएर शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप गरिरहेको भन्दै तत्काल यसलाई सच्याउन माग गरेको छ ।