एन.एम.बी. बिर्तामोड शाखामा सम्पूर्ण सेवा बन्द

बिर्तामोड । बैंक कर्मचारीमा संक्रमण देखिएपछि एन.एम.बी. बिर्तामोड शाखामा सम्पूर्ण सेवा बन्द गरिएको बैंकका बिर्तामोड इन्चार्ज मेघराज तिमल्सिनाले बताए । झापाको विर्तामोडबाट सरुवा भएर काठमाडौ गएका अधिकृत स्तरका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । बिर्तामोडबाट गत शुक्रबार तीनजना सरुवा भएर गएकोमा दुई जनालाई मंगलबार संक्रमण पुष्टि भएको बैंकले जनाएको छ । उनले आफूहरु सुरक्षित तवरले बैंकमा आएपनि सेवाग्राहीको कामकाज बन्द गरेको जानकारी दिए ।

बिर्तामोड नगरपालिकाले संक्रमित ती बैंक कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ । हिजो १२ जना बैंक स्टाफको स्वाब संकलन गरिएको र अन्य ६ जनाको लिन बाँकी रहेको तिमल्सिनाले बताए । बिर्तामोड क्षेत्रमा समुदायका ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती संक्रमितहरुको सम्पर्कमा आएका एक हजार जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने लक्ष्य राखिएको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।