भद्रपुरका बासिन्दा अशुद्ध पानी पिउन बाध्य
भद्रपुर । खानेपानी संस्थान भद्रपुरले समयमै पाइपलाइन मर्मतसंहार नगर्दा नाली तथा ढलको पानी समेत मिसिएर धारामा अशुद्ध पानी वितरण भइरहेको पाइएको छ ।
संस्थानको व्यवस्थापन पक्षको चरम लापरवाहीले जताभावी फुटेका पाइपलाइनबाट भद्रपुर नगरपालिका क्षेत्रको पिउने पानी प्रदुषित रूपमा वितरण भइरहेका पाइएको हो ।
स्थानीयले पटक पटक पिउने पानीको फुटेको पाइपलाइनबाट मिसावट भएर ढल प्रवेश गर्दा जनश्वास्थ्यमा जोखिम बढेको भन्दै संस्थान नेतृत्वसित गुनासो गर्दा समेत सुनुवाइ नभएको बताउने गरेका छन् ।
संस्थानका जिम्मेवार कर्मचारी तथा प्राविधिकको लापरवाहीले सडक छेउछाउ फुटेका पाइपलाइन राम्ररी मर्मत नहुँदा जनश्वास्थ्यमा नकारात्मक प्रभाव बढ्दै छ भने संस्थानमा जम्मा हुने लाखौं रकमको पानी सडकमा बगेर खेर गइरहेको छ ।
निर्माणाधीन मेची राजमार्ग तथा भद्रपुर नगरभित्रका विभिन्न निर्माणाधीन भित्री सडकमा फुटेका पाइप लाइन मर्मत तथा सुधारमा संस्थान नेतृत्वले बेवास्ता गरिरहेको छ भने जिम्मेवार जनप्रतिनिधि समेत बेखवर रहने गर्दा सडक हिलाम्मे भइरहेका छन् ।
संस्थानको लापरवाही प्रति स्थानीयले वडा कार्यालय देखि नगरपालिकासम्म गुनासो गरेका भए पनि सुनुवाइ नभएको बताएका छन् । बाक्लो सवारी चाप रहने अधिकाम्स सडक खण्डमा छलाछुल्ल फुटेका पाइपलाइनबाट बग्ने पानीका कारण दुर्घटना जोखिम त छदैछ, सडक किनाराबाट पैदल हिड्ने यात्रुलाइ समेत हिलो छेपिने त्रासमा यात्रा गर्न बाध्यता छ ।
जताततै फुटेको पाइपलाइनका कारण दुई तलामाथि पानी नचढ्ने समस्या समेत भोग्नु परेको स्थानीयको दुखेसो छ । सरकारी काम कहिले जाला घम शैलीका कारण संस्थानमा कार्यरत कर्मचारी जिम्मेवार नरहेको उनीहरूको आरोप छ ।