कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर फर्कियो

शिवसताक्षी । झापाको सवैभन्दा ठूलो नदी कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर फर्किएको छ । नदीको वहाव गाउँतिर फर्किएकाले , त्यसको निशानामा पर्ने शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका बासिन्दामा त्रास फैलिएको छ । उनीहरु रातभर ढुक्कले निदाउन पाएका छैनन् । ‘बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ ।

स्थानीयवासीले वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । नदीजन्य पदार्थको अत्यधिक दोहनका कारण पछिल्लो केही वर्षयता बाढी र डुवानको समस्या अझ बढेर गएको बताउँछन् कन्काई नदीकै छेउमा घर र खेती भएका शिवसताक्षी नगरपालिका–७ का तेजबहादुर कुँवर । उनी भन्छन्, ‘‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन ।’’ कन्काई नदी झापाको मध्यभागबाट बग्दछ । बर्षामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पु¥याउँदै आएको छ । बाढी आउँदा घरजग्गा डुबाउने र बाढी घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा कन्काईले हजारौंँ वासिन्दालाई घरबारविहीन बनाइसकेको छ । विगत तीन दिनदेखि भइरहेको तीव्र कटान रोकिएन भने अबको केही दिनमै रुदिला, लालपानी, पाङ्ग्रे, फुटानी, मदरगाछ र सिमलबाडीमा रहेका दशौं हजार बिघा उर्वर जमिन र सयौं घर रहेको बस्ती बगरमा परिणत हुनसक्ने त्रास उत्पन्न भएको छ । शिवसताक्षी नगरपालिकाका प्रवक्ता नवीन इजमले कटान कसरी रोक्ने भन्ने विषयमा नगरपालिका गम्भीर रहेको र यसका लागि जनताको तटबन्धन कार्यालयसँग समन्वय भइरहेको बताए ।