नेपालमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण देखिएको ६ महिनामा संक्रमितको संख्या २० हजार नाघेको छ । सुरुवातमा विदेशबाट आएका संक्रमण देखिए पनि पछिल्लो समय स्वदेशमै रहेकाहरूलाई पनि कोरोनाले सताउन थालेको छ । लक्षणसहितका संक्रमित देखिन थालेपछि संक्रमितहरुलाई धमाधम आइसियुको आवश्यकता परी आइसियुमा जान थालेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म बागमती प्रदेशमा मात्रै १५ जना संक्रमित आइसियुमा उपचाररत छन् ।

संक्रमितहरुमा निमोनिया तथा अन्य खालका जटिल समस्या देखिएर आइसियुमा पुग्‍ने गरी गम्भीर हुन थालेपछि उपचारको नयाँ तरिका पनि सुरु भएको छ । कार्कीलाई प्लाज्मा कोरोना संक्रमण देखिएर शिक्षण अस्पतालको आइसियुमा उपचाररत एकजना बिरामीमा निमोनिया भएर गम्भीर समस्या भएको थियो । शिक्षण अस्पतालको आइसियुमा उपचाररत विराट नर्सिङ होम, विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो । काठमाडौं ल्याएर आइसियुमा राखेर उपचार गर्दा समेत स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकहरुले उनलाई यसअघि कोरोना संक्रमित भएर उपचारपछि ठीक भएका व्यक्तिको रगतको प्लाज्मा दिएका छन् । संक्रमणले निकै जटिल अवस्थामा पुगेका कार्कीलाई बचाउन प्लाज्मा दिइएको हो । कार्कीलाई केही समयअघि विदेशबाट आउँदा कोरोना आइसोलेसनमा उपचारपछि ठिक भएका व्यक्तिले प्लाज्मा दिएपछि उनी खतरामुक्त भएका छन् । कोरोना संक्रमणबाट फोक्सो जटिल समस्या देखिएका उनलाई भेन्टिलेटरमा राखेर ९० प्रतिशत अक्सिजन दिनुपरेको त्रिवि शिक्षण अस्पताल कोभिड(१९ नियन्त्रण समन्वय समितिका संयोजक प्रा.डा. शान्तकुमार दासले बताए । प्लाज्मा थेरापी गरिएपछि तीन दिनमै अक्सिजनको मात्रा घटाएर २४ प्रतिशतमा झारिएको छ । कार्कीलाई अब सामान्य बेडमा सार्ने तयारी भइरहेको डा. दासले बताए ।

यो पद्धतिबाट नेपालमा कोरोना संक्रमितको पहिलो पटक उपचार गरिएको हो । त्रिवि शिक्षण अस्पताल कोभिड(१९ नियन्त्रण समन्वय समितिका संयोजक दासले प्लाज्मा दिएपछि हाल उनको अवस्था खतरामुक्त भएको बताए । ’प्लाज्मा दिएपछि उहाँको स्वास्थ्यमा निकै सुधार आएको छ । हाल उहाँ खतरा मुक्त हुनुहुन्छ ।’ तर उनलाई प्लाज्मा दिने व्यक्तिबारे दासले केही बताउन चाहेनन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका कार्कीलाई निमोनिया देखिएपछि थप ‘अब्जरभेसन’का लागि अघिल्लो शनिबार हेलिकोप्टर चार्टर गरी काठमाडौँ ल्याइएको थियो ।

के हो प्लाज्मा थेरापी ?

प्लाज्मा थेरापीबारे एउटा धारणा छ, कोभिड(१९ संक्रमणबाट बिरामी निको हुँदा उनीहरुको शरीरमा संक्रमणलाई रोक्न सक्ने प्रतिरोधात्मक एन्टिबडी बन्छ । जसको मद्दतबाट कोभिड(१९ का संक्रमितको रगतमा भएको भाइरस नष्ट गर्न सकिन्छ । संक्रमणसम्बन्धी रोगमा पहिलेदेखि नै प्लाज्मा थेरापीबाट उपचार हुँदै आएको छ । कोरोनाविरुद्ध लड्नका लागि मानव शरीरले प्रतिरोधी क्षमता विकास गर्न कम्ती १० देखि १४ दिन लाग्ने गर्छ । यदि सुरुवातीको चरणमै बिरामीमा प्लाज्मा थेरापी विधि अपनाउने हो भने भाइरससँग लड्ने क्षमतामा वृद्धि गर्न सकिन्छ । प्लाज्मा थेरापीको माध्यमबाट रगतबाट उक्त इम्युनोग्लोबुलिनलाई हटाइन्छ । कुनै भाइरसको संक्रमणका कारण शरीरमा एन्टिबडीले काम गर्न असमर्थ हुँदा वा रोगबाट निको हुने सम्भावना कम भएमा प्लाज्मा थेरापीको विधि अपनाइन्छ । कोरोना संक्रमित भएर निको भएका व्यक्तिहरुले पनि आवश्यक परेमा आफ्नो प्लाज्मा दान गर्ने बताउँदै आएका छन् । तीमध्ये एक हुन्, नेपालको दोस्रो कोरोना भाइरस संक्रमित भई निको भएकी प्रसिद्धि श्रेष्ठ । उनले निको भएपछि कोरोनाविरुद्ध लड्न आफ्नो प्लाज्मा दान गर्न तयार रहेको बताएकी थिइन् ।