नेपालमा आज थपिए २४६ जना कोरोना संक्रमित

काठमाडौँ । नेपालमा आज थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

अहिले क्वारेन्टाइनमा १० हजार ९३४ जना रहेका छन्। पछिल्लो २४ घण्टामा आठ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको मन्तालयले जनाएको छ । हाल देशभर ५ हजार ६७२ जना कोरोना संक्रमित छन्। नेपालमा बितेको २४ घण्टामा थप १११ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ रहेको छ ।

आज कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको मन्तालयले जनाएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिला रहेकी छिन् । मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट र कैलाली हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ६ पुगेको छ । प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो ।