नेपालमा आज ३ सय ११ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । नेपालमा आज थप ३ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा १५ हजार ३ सय ३१ जना रहेका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार १ सय २९ छ । प्रदेश १ मा २ सय १७, प्रदेश २ मा एक हजार ९ सय २२, वागमती प्रदेशमा ४ सय ६१, गण्डकी प्रदेशमा २ सय ६०, प्रदेश ५ मा ३ सय ९९, कर्णाली प्रदेशमा ३ सय ७९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय १ जना रहेका छन् । नेपालमा बितेको २४ घण्टामा थप १ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५ रहेको छ ।
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बझाङको बुगल गाउँपालिका ३ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ४८ पुगेको मन्त्रालयले जनाएको छ । रौतहट र कैलाली जिल्लामा ५ सयभन्द बढी संक्रमित उपचाररत छन् भने भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला संक्रमणमुक्त रहेका छन् ।