कचनकवलमा सञ्चालित निजी विद्यालय बन्द गराइयो

कचनकवल । कचनकवल गाउँपालिका भित्र केही निजी विद्यालयले विद्यालय सञ्चालन गर्न थालेपछि गाउँपालिकाले बन्द गराएको छ । झापामा कारोनाको हटस्पट बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयहरुले जबरजस्त कक्षा सञ्चालन गरेको पाइएपछि पालिका बन्द गराउन बाध्य भएको हो । लकडाउन खुले पनि झापाका कोरोनाको जोखिम बढ्दो छ । त्यसमा पनि कचनकवल गाउँपालिका जोखिम बढी भएको गाउँपालिका अध्यक्ष अज्जार आलामले जानकारी दिए । उनले यस्तो अवस्थामा अन्य बैकल्पिक सिकाईमा सहजीकरण गरेर काम गर्नु पर्छ । विद्यालय खोलेर सञ्चालन गर्दा झनै जोखिम बढ्ने भएकाले हामीले बन्द गर्न आग्रह गरेका हौं ।

पालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुले समुदायमा आधारित रहेर सिकाई केन्द्रहरुमार्फत बैकिल्पक सिकाई सहजीकरण गर्नुपर्नेमा विद्यालय नै खोलेर कक्षा सञ्चालन गर्न सुरु गरेपछि बन्द गराइएको अध्यक्ष अञ्जार आलमले बताए । पालिकाको शिक्षा शाखाले केही दिन अघि गरेको अनुगमनका क्रममा वडा नम्बर २ र वडा नम्बर ७ मा रहेका निजी विद्यालयले कक्षा कोठाभरि विद्यार्थी राखेर पठनपाठन गरिरहेको पाएपछि बन्द गराएको थियो । शाखाले सूचना नै प्रकाशन गरेर विद्यालय खोली पठनपाठन नगर्न नगराउन अनुरोध गरेको छ ।

झापामा हालसम्म कोरोना संक्रमितको संख्या ३४६ जना रहेको छ । जसमध्ये निको भएर ३०४ जना घर फर्किएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । कचनकवल गाउँपालिकाका मात्र १३५ जना कोरोना संक्रमित मध्ये निको भएर १३४ जना फर्किसकेका छन ।